सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

भैरहवा भन्सार घोटालामा अख्तियार नै शंकास्पद

रुपन्देहीको भैरहवा भन्सारमा घामजस्तै छर्लङ्ग खुल्ला रुपमा भ्रष्टाचार भएको देखिए पनि भन्सार विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविन थप शंकास्पद देखिएको छ ।

कर्मचारीको मिलेमतोमा एउटै प्रज्ञापन पत्रबाट दुईवटा मालवाहक गाडी बाहिरीने गरेको पुष्टि भए पनि छानविन गर्ने निकायहरुले छानबिनमा ढीलासुस्ती गर्दै संलग्न कर्मचारीलाई जोगाउन खोज्दा उनीहरुको गतिविधि शंकास्पद देखिएको हो ।

घटना सार्वजनिक भएपछि भन्सार विभागले घटनाको छानविन गर्नका लागि विभागको निर्देशक दिव्या पोख्रेलको संयोजकत्वमा ३ सदस्यीय छानबिन टोली भैरहवा पठाएको थियो ।

विभागको टोलीले भैरहवा भन्सार कार्यालयमा भएको घटनाबारेको छानविन प्रतिवेदन विभागलाई बुझाएको विभागका प्रवक्ता कुलराज ज्ञवाली बताएका छन । तर, घटनामा संग्लन दोषीको विषयमा प्रतिवेदनमा केही उल्लेख गरिएको छैन ।

प्रवक्ता कुलराज ज्ञवालीले भने–‘अब घटनामा संग्लन कर्मचारी उपर छानबिन हुन्छ र त्यसपछि कर्मचारी दोषी पाइएमा उनीहरु उपर कारवाही हुन्छ, अन्यथा हुँदैन ।’

प्रतिवेदन बुझाए पश्चात विभागका महानिर्देशक (डीजी) आफैंले वा कुनै जाँचबुझ अधिकृत तोकेर घटनामा संग्लन कर्मचारीउपर छानविन गर्नुपर्ने हो, तर प्रतिवेदन बुझाएको हप्ता दिन बितिसक्दा समेत डीजी रामशरण चिमोरियाले केही नगरेको विभागका एक कर्मचारीले बताएका छन ।

यता, घटना सार्वजनिक भएपछि अनुसन्धानका लागि भैरहवा भन्सार कार्यालयमा पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पश्चिमाञ्चल क्षेत्रको सम्पर्क कार्यालय बुटवलका प्रमुख विमल बस्नेतले आफूहरुले सामान्य छानविन गरी आयोगमा प्रतिवेदन पठाएको बताएका छन ।

अनुसन्धानमा कोही दोषी पाइएका छन् वा छैनन् भन्ने प्रश्नमा उनले भने–‘हामीलाई विस्तृत अनुसन्धान गर्न आयोगले निर्देशन दिएको छैन । अहिले हामीले सामान्य अनुसन्धान गरेर मात्रै आयोगमा प्रतिवेदन पठाएका छौँ ।’

दुई चार हजार रुपैयाँ घुस लिने कर्मचारीलाई छोपेर प्रचारबाजी गर्नेे अख्तियारले भैरहवा भन्सारमा भएको नाङ्गो भ्रष्टाचारको घटनालाई भने थामथुम पार्न खोज्दा अख्तियार माथी नै गम्भीर प्रश्न खडा भएको सरोरकारवालाहरुको भनाई छ ।

भन्सारमा कर्मचारीको मिलेमतोमा एउटै प्रज्ञापन पत्रबाट दुई वटा गाडीका साथै प्रज्ञापन पत्रमा उल्लेख रहेको भन्दा हार्डवेयर, कपडा, सिडी चक्का लगायत २६ किसिमका ५३ लाख ६० हजार रुपैयाँ मुल्य बराबरको महंगा सामाग्रीहरु फेला परेको थियो । जसमा भन्सार विभाग र अख्तियार दुवै तै चुप मै चुप अवस्था रहेका छन् ।

 

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS