पोखराका गुण्डा तह लगाउने एसपीको उद्घोष
सुरक्षा व्यवस्था सुधारका लागी १५ बुँदे कार्ययोजना सार्वजनिक गर्दै कास्कीका नयाँ प्रहरी प्रमुख एसपी अशोक सिंहले गुण्डागर्दी रोक्न शुन्य सहनशीलताको नीती अपनाउने घाषणा गरेका छन ।
आईतबार जिल्ला प्रहरी कार्यालय कास्कीमा पत्रकार सम्मेलन गर्दै एसपी सिंहले गुण्डागर्दी मौलाउँदा त्यसले समाजमा आतंक सिर्जना गर्ने भन्दै उनले गुण्डागर्दी नियन्त्रण आफ्नो पहिलो एजेण्डा भएको बताएका छन ।
दुई साताअघि मात्रै सरुवा भएर आएका उनले भने–‘अपराध नियन्त्रण तथा रोकथाम मेरो पहिलो प्राथमिकतामा छ, गुण्डागर्दी रोक्न सबै किसिमको प्रयास गर्छु ।’
हरेक पटक सरुवा भएर आउने प्रहरी इन्चार्ज जस्तै सिंहले पनि गुण्डागर्दी रोक्नका लागि विभिन्न चरणमा काम गर्ने योजनाको बेलीविस्तार सुनाएका छन । सिंहका भने–‘पहिलो चरणमा गुण्डागर्दी गर्ने व्यक्तिको पहिचान गर्ने, उसले गरेको अपराधको खोजी गर्ने र त्यसपछि पक्राउ गरेर कडा कार्वाही गर्ने काम हुनेछ ।’
एसपी सिंहले लागू औषध कारोबार रोकथाम तथा नियन्त्रण गर्ने, चोरी, तस्करी, कालो बजारी तथा अवैध मदिरा नियन्त्रणका लागि अभियान नै सञ्चालन गर्ने प्रतिवद्धता सहितको योजना समेत प्रस्तुत गरेका छन ।
त्यस्तै, पोखराको ट्राफिक व्यवस्थापनका लागि सुधारको योजना ल्याउने समेत एसपी सिंहले बताएका छन । एसपी सिंहले फरार अपराधीको खोजीलाई तिव्र बनाउने र उनीहरुलाई कारबाही गरेरै छाड्ने दृढता व्यक्त गरेका छन । उनले भष्ट्राचारमा पनि शून्य सहनशिलता अपनाउने उद्घोष गरेका छन ।
उनले भ्रष्टाचारमा संलग्न भएको प्रमाणित भए आफूले कसैको भनसुन नसुनी कडा कारबाही गर्ने बताए । सिंहले प्रहरी भित्र पनि आन्तरिक शुद्धीकरण थाल्ने बताएका छन । प्रविधि मैत्री प्रहरी सेवा, कार्यालयका भौतिक संरचना निर्माण, महिला हिंसा विरुद्ध अभियान लगायतका कार्यक्रम जारी राख्ने सिंहले बताए ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्