दुई चरणमा हुने भो प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव
प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव दुई चरणमा हुने भएको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा र प्रदेशसभा चुनाव आगामी मंसिर १० र २१ गते दुई चरणमा गर्ने निर्णय गरेको हो ।
यसअघि सरकारले प्रदेशसभा र प्रतिनिधिसभाको दुवै निर्वाचन एकै चरणमा मंसिर १० गते गर्ने मिति तय गरेको थियो । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले निर्वाचन आयोगको आग्रहअनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन दुई चरणमा गर्ने निर्णय गरिएको जानकारी दिएका छन ।
उनका अनुसार प्रदेशसभा र प्रतिनिधिसभाका दुईवटा मतपत्र हुनेछन् । एउटा मतपत्र प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फ र अर्को समानुपातिक तर्फको मतपेटिकामा मत खसाल्नु पर्ने हुन्छ ।
मंसिर १० र २१ गते दुवै तहका निर्वाचन हुने मन्त्री बस्नेतले प्रस्ट पारेका छन । पहिलो चरणमा मंसिर १० गते हिमाली जिल्लाहरुमा र सुगम जिल्ला, क्षेत्रहरुमा २१ गते दोस्रो चरणमा दुवै तहका निर्वाचन हुनेछन् ।
त्यस्तै प्रदेश प्रमुखहरुको नियुक्तिका लागि राजनीतिक सहमति खोज्ने र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग गठन प्रक्रिया अगाडि बढाउने मन्त्रिपरिषद् बैठकले निष्कर्ष गरेको छ ।
’चुनाव दुई चरणमा गर्नुको औचित्य के हो ?’: ओली
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन दुई चरणमा गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएको छ । नियमित उपचार गरी थाइल्यान्डबाट बुधबार दिउँसो स्वदेश फर्केका एमाले अध्यक्ष केपी ओलीले दुई चरणमा निर्वाचन गर्ने निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले मंसिर १० गते एकै चरणमा गर्ने भनिएको चुनाव दुई चरणमा पुर्याउनुको औचित्य नभएको टिप्पणी गरेका छन । ‘निर्वाचन आयोगले पहिले गरेको ४ र २१ को प्रस्तावलाई मिलाएर मंसिर १० गतेलाई तोकिएको हो,’ उनले भने, ‘फेरि २१ गते पुर्याउनुपर्ने र दोस्रो चरणमा गर्नुपर्ने आवश्यकता म देख्दिनँ ।’
उनले निर्वाचन आयोगको अप्ठ्यारा हो भने जिम्मेवार र प्रमुख दलहरुसँग परामर्श गरेर औचित्यको आधारमा चुनाव सार्नु पर्नेमा मन्त्रिपरिषद्ले एकलौटि निर्णय गरेको भन्दै सरकारको आलोचना गरेका छन ।
लामो समयको अन्तरालमा दुई चरणमा चुनाव गर्दा मतपेटिकाको सुरक्षा लगायतका कुरामा समस्या हुने उनले बताएका छन । ओलीले निर्वाचनको निष्पक्षतामाथि सत्तासिन कांग्रेस, माओवादी केन्द्र गठबन्धनको क्रियाकलाप, गतिविधिमा आम जनताको विश्वास नभएको दाबी पनि गरेका छन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्