सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

म्यानमारमा मुश्लिममाथी दमन, ४ सयको हत्या

बेलायतस्थित मानवअधिकार समूह हुमनराइट्स वाचले स्याटलाइट तस्बिरहरुको विश्लेषण गर्दा म्यानमार सरकारले रोहिंग्या मुसलमान समुदायका सात सयभन्दा बढी घर जलाएको पाइएको जनाएको छ ।

हुमनराइट्स वाचले म्यानमारको रखिने प्रान्तमा उक्त समुदायमाथि भइरहेको अत्याचारले सोच्न बाध्य बनाएको जनाएको छ । संयुक्त राष्ट्रसंघका अनुसार साता दिन यता रोहिंग्या समुदाय र सुरक्षाकर्मीबीच भइरहेका झडपमा करिब चार सय जनाको मृत्यु भइसकेको छ ।

सुरक्षाकर्मीको अत्याचार सहन नसकेर रखिने प्रान्तका ४० हजारभन्दा बढी मानिस भागेर बंगलादेश पुगिसकेका छन् । बंगलादेशका शरणार्थी शिविरहरुमा देखिएका १० हजारभन्दा बढी मानिस नयाँ रहेको राष्ट्रसंघीय उच्चअधिकारी बिबियन टेनले बताएका छन् ।

विस्थापित भएर बंगलादेश पुगेका उक्त समुदायका मानिसहरुका अनुसार रोहिंग्याको घरमा सरकारी सुरक्षाकर्मीहरुले जानीबुझी आगो झोसिदिने गरेका छन् । म्यानमार सरकारले भने उक्त आरोप अस्वीकार गर्दै आएको छ ।

म्यानमारमा बौद्ध धर्म मान्ने समुदायको बाहुल्यता छ । मुस्लिम धर्म मान्ने रोहिंग्या समुदाय त्यहाँको अल्पसंख्यक जाति हो, जहाँ करिब १० लाख जनसंख्याको बसोबास रहेको अनुमान छ । उनीहरुमाथि बंगलादेशबाट अवैध रुपमा म्यानमारमा आएर बसोबास गरिरहेको आरोप बहुसंख्यक जातिले लगाउँदै आएको छ ।

धेरै पुस्तादेखि म्यानमारमै रहेर पनि उनीहरुलाई सरकारले नागरिकता दिन अस्वीकार गर्दै आएको छ । रखिने प्रान्तमा सन् २०१२ देखि हिंसा भड्किएको हो, जसका कारण एक लाखभन्दा बढी रोहिंग्या थातथलोबाट विस्थापित भइसकेका छन् ।

गत महिना नौ प्रहरीको हत्या भएपछि सेनाले रखिने प्रान्तमा अपरेसन चलाएको छ । त्यसयता सुरक्षाकर्मीको बर्बरताका कारण सयभन्दा बढीको मृत्यु भइसकेको र सयौंलाई गिरफ्तार गरिएको रोहिंग्या कार्यकर्ताहरुले बताएका छन् । म्यानमारको सेनाले उक्त समुदायविरुद्धको अपरेसनमा हेलिकोप्टरको समेत प्रयोग गर्ने गरेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्