सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मलेशिया जानेसँग बढि पैसा लिने रंगेहात पक्राउ

विदेश जाने व्यक्तिसँग तोकिएकोभन्दा बढी शुल्क उठाउँदै गरेको अवस्थामा एक म्यानपावरका कर्मचारीलाई वैदेशिक रोजगार विभागले रंगेहात पक्राउ गरेको छ ।

बिभागका प्रवक्ता मोहन अधिकारीका अनुसार आईतबार सिनामंगलस्थित सिद्धग्लोबल म्यानपावरमा छापा मार्ने क्रममा म्यानपावरका कर्मचारी भीष्म अधिकारीलाई रकम उठाउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो ।

बिभागका अनुसार अधिकारी विदेश जाने दुई जना कामदारसँग ८०/८० हजार रुपैयाँ लिँदै गर्दा रंगेहात समातिएका हुन् । ती कामदारले यसअघि पनि म्यानपावरलाई २०/२० हजार रुपैयाँ बुझाइसकेका थिए ।

विभागले सिद्धग्लोबल म्यानपावरका सञ्चालक शंकरप्रसाद आचार्यलाई पनि खोजी गरिरहेको छ । विभागले कर्मचारी पक्राउ गरेपछि म्यानपावरको कारोबार रोक्का गरिदिएको छ ।

विभागले मलेसियासहित ६ खाडी देशमा फ्री भिसा र फ्री टिकेटको नीति लिएको छ । म्यानपावरले १० हजारभन्दा बढी शुल्क लिन पाउँदैनन् । तर, कामदारसँग लाखौं शुल्क लिने क्रम झन् बढेपछी बिभागले छापा मार्न थालेको हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्