सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

तस्करीको ८८ किलो सुन यसरी समात्यो प्रहरीले

प्रहरीले काठमाण्डौका क्षेत्रपाटीबाट अहिलेसम्मको सबैभन्दा धेरै परिमाणको अबैध सुन बरामद गरेको छ । सोमबार बिहान गोप्य सुचनाको आधारमा प्रहरीले चीनसँगको केरुङ नाका हुँदै काठमाडौं आइपुगेको ८८ किलो अवैध सुन समातेको हो ।

यति ठुलो परिमाणमा उक्त सुनलाई तस्करले सुरक्षा निकायका दर्जन भन्दा बढी चेकपोष्ट पार गर्दै काठमाडौं भित्र्याईसकेपछी प्रहरीले सुईँको पाएको थियो । प्रहरी अधिकारीका अनुसार उक्त सुन केरुङबाट नुवाकोट–धादिङ रुटको सडकमार्ग हुँदै नागढुंगाबाट काठमाडौं भित्र्याएको अनुमान गरिएको छ ।

केरुङ–त्रिशूली–गल्छी (धादिङ) हुँदै काठमाडौं आउने रुटमा डेढ दर्जन सुरक्षा चेकपोस्ट छन् । रसुवामा रसुवागढीस्थित गढी पुलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ भने सो नजिकै पर्ने टिमुरे भन्सार यार्डमा सशस्त्र र आर्मीको चेकपोस्ट रहेको छ ।

यस्तै टिमुरेमा ईन्सपेक्टरको कमाण्डमा प्रहरीको अर्को चेकपोस्ट पनि रहेको छ । यस्तै रसुवाकै स्याफ्रुबेसीमा नेपाल प्रहरी, धुन्चेको तल्लो भागमा र शिव मन्दीर नजिकै सशस्त्रको चेकपोस्ट रहेको छ भने धुन्चे गेटमा नेपाल प्रहरी, लाङटाङ राष्ट्रिय निकुञ्जस्थित ग्राबलमा नेपाल आर्मीको चेकपोस्ट रहेको छ ।

यसैगरी कालिकास्थानमा आर्मीको अर्को चेकपोस्ट पनि रहेको छ । कालिकास्थानमै ईलाका प्रहरी कार्यालय छ भने नुवाकोट र रसुवाको सीमा क्षेत्र बेत्रावतीमा पनि प्रहरी चौकी रहेको छ ।

नुवाकोटमा सिमलटार, बिदुर बजार, देबीघाट र तारुकामा पनि प्रहरी चेकपोस्ट रहेको छ । यस्तै धादिङको गल्छी हुँदै काठमाडौंको नागढुंगासम्म आइपुग्दा गल्छी, सिम्ले, धार्के र खानीखोलामा चेकपोस्ट रहेको छ भने काठमाडौंमा नागढुंगा र थानकोटमा मुख्य चेकपोस्ट रहेको छ ।

गल्छी–त्रिशूली रुट नभई पासाङल्हामु मार्ग हुँदै तस्करले सो सुन काठमाडौं भित्र्याएको भए पनि तादी, पैँतीस किलो, ओखरपौवा, ककनी लगायतका स्थानमा प्रहरीका मुख्य पोस्ट रहेका छन भने टोखा–छहरे मार्ग रोजेको भएपनि छहरे र ढिकुरेमा मुख्य चेकपोस्ट रहेका छन् ।

महानगरीय अपराध महाशाखालाई तीन दिन अघि विशेष स्रोत मार्फत सुन तस्करीको विषयमा केहि सुचना प्रवाह भएको थियो । सोही सूचनाका आधारमा अपराध महाशाखाले शंकास्पद गतिविधिमा निगरानी बढाएको बढाउँदै जाँदा ईतिहाँसमै सर्बाधिक परिमाणको सुन फेला परेको हो ।

प्रहरीको स्रोतले तस्करी गरिएको सुन क्षेत्रपाटीमा रहेको सुइंको पायो । लक्षित स्थानमा पुगेको प्रहरी टोलीले बा.१७ च. ६४२७ नम्बरको सडकमा पार्कीङ गरेको गाडीलाई कब्जामा लिएर खानतलासी गर्दा ८८ केजी सुन बरामद गर्न सफल भयो ।

प्रहरीको पछिल्लो अनुसन्धानले सुन गिरोहमा नेपाली तस्करका साथै चिनियाँ र बिदेशी नागरिकहरु पनि संलग्न भएको पाईएको छ । भदौ १४ गते सिन्धुपाल्चोकका ग्याल्बु लामाको कोठाबाट बरामद १४ केजी सुन प्रकरणमा दुई केजी भारत तस्कर भएको पाईएपछी यसमा अन्तराष्ट्रिय गिरोह पनि संलग्न रहेको प्रहरी निश्कर्ष छ ।

प्रहरीले हालसम्मकै सर्बाधिक परिमाणको सुन बरामद गरेपनि तस्करीमा संलग्न मुख्य नाईकेलाई भने पक्राउ गर्न असफल भएको छ । प्रहरीले ८८ केजी सुन सहित गाडी चालक मकवानपुरका मनोज अधिकारीलाई पक्रन सफल भयो तर तस्करीका नाइके फरार छन् ।

आजको बजार मूल्य अनुसार बरामद गरिएको सुनको मुल्य ४३ करोड १८ लाख ८ हजार ६७९ रुपैयाँ रहेको छ । प्रहरीले सुन तस्करीका मुख्य नाईके केहि समयमा पक्राउ पर्ने आशा गरौँ भनेको छ । सुन तस्करीको जालो प्रहरीले पत्ता लगाउन सक्छ सक्दैन त्यो भने हेर्न बाँकी नै छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS