रेणुलाई झट्का, कार्यपालिकामा एमालेको बहुमत
चितवनको भरतपुर महानगरपालिकाको कार्यपालिकामा एमालेले बहुमत प्राप्त गरेको छ । कार्यपालिका गठनका लागि शुक्रबार भएको मतदानमा जम्मा ७० मत भएको एमालेले बहुमत बनाएको हो ।
५ महिला र ३ दलित सदस्यका लागि भएको निर्वाचनले स्थिति उल्ट्याइदिएको हो । महानगरपालिकाको मतको ‘कम्पोजिसन’ एमाले ७०, कांग्रेस ६९ र माओवादी ८ थियो । तर एमालेले दलित र महिला ३÷३ पदमा जितेर महानगरको मेयर रेणु दाहाललाई एमालेसँग सहकार्य नगरी अघि बढ्न नसक्ने ठाँउमा पुर्याएको छ ।
कार्यपालिका सदस्यका लागि शुक्रबार भएको निर्वाचनमा माओवादीबाट उम्मेदवार बनेका १ महिला र २ दलित सदस्य पराजित बनेका छन । कांग्रेसका ४ महिला सदस्यमध्ये २ विजयी भए भने २ जना पराजित भएका छन् । कांग्रेसको १ दलित सदस्य पनि पराजित बनेका छन् ।
२ जना महिला शुरुमा नै निर्वाचित भए पनि कांग्रेस र एमालेका २÷२ जनाको मत बराबर ७२–७२ भएपछि गोलाप्रथाबाट सदस्य चयन गरिएको थियो । गोलाप्रथामा एमालेका २ जना र कांग्रेसबाट १ जना महिला चयन भएका थिए ।
गोलाप्रथाबाट थपिएको १ महिला सदस्यकै कारण वोर्डमा एमालेले बहुमत बनाएको हो । कूल १४७ जनाले मतदान गरेका थिए । एमालेबाट वोर्ड सदस्यमा धनकुमारी विक, पार्वती विक, विना गुरुङ, चक्र रुचाल, टेकलाल विश्वकर्मा र मानबहादुर विश्वकर्मा विजयी भएका छन ।
कांग्रेसबाट गीताकुमारी शर्मा र पवित्रा केसीले जितेका छन् । महानगरपालिकाको ३९ सदस्यीय बोर्डमा एमालेबाट २० र कांग्रेस माओवादी गठबन्धनबाट १९ सदस्य भएका छन् । एमालेबाट १४ जना निर्वाचित वडाध्यक्ष, कार्यपालिकाबाट थपिएका ६ जना सदस्य गरी २० जना भएका छन् ।
कांग्रेसका निर्वाचित १२ जना वडाध्यक्ष, कार्यपालिकामा निर्वाचित २ जना महिला सदस्य, माओवादीका ३ जना वडाध्यक्ष, एवम् मेयर र उपमेयर गरी १९ जना वोर्ड सदस्य बनेका छन् । भरतपुर महानगरमा २९ वडा छन् । एमालेले चितवनका सात स्थानीय तह मध्ये ६ स्थानीय तहको वोर्डमा वहुमत बनाएको छ ।
कांग्रेस–माओवादी गठवन्धनमा संकट !
कांग्रेस सांसद रामकृष्ण घिमिरेले बारम्बार माओवादीलाई भोट हाल्न परे कांग्रेसमा बस्नुको औचित्य छैन भनेर सार्वजनिक टिप्पणी गरेकै दिन भएको महानगरको कार्यपालिका वोर्ड निर्वाचन परिणामले गठवन्धनमा दरार पैदा गर्ने संकेत देखिएको छ ।
घिमिरे कांग्रेस सभापति सुशिल कोइरालाले जितेको चितवन–४ बाट निर्वाचित सांसद हुन् । बोर्डको चुनावमा कांग्रेसका प्रतिनिधिले धोका दिएको माओवादीले आरोप लगाएको छ । माओवादी केन्द्रका जिल्ला इञ्चार्ज ईश्वरी भट्टराईले आफ्नै उम्मेदवारलाई भोट नदिने कांग्रेसले माओवादीलाई पनि भोट नदिएको टिप्पणी गरेका छन ।
‘हाम्रा त सिमित र जिम्मेवार मान्छे थिए, तर कांग्रेसले नै मत नहालेर हराए’ माओवादी इञ्चार्ज भट्टराईले भने, ‘आजै पार्टीभित्र समीक्षा गरी कांग्रेस नेतृत्वसँग पनि छलफल गर्दछौं ।’
कांग्रेस चितवनका जिल्ला सचिव उत्तम जोशीले पार्टीभित्र यसबारे छलफल हुनेपर्ने बताएका छन । उनले पार्टीले जर्बजस्ती गर्दा त्यसलाई कार्यकर्ताले नरुचाएको हुनसक्ने भन्दै कांग्रेस–माओवादी गठबन्धनबारे समीक्षा गर्नुपर्ने बताएका छन ।
कार्यपालिका वोर्ड निर्वाचनमा बहुमत हुँदाहुदै पनि एमालेले जितेपछि आक्रोशित बनेका कांग्रेस कार्यकर्ताले पार्टी जिल्ला नेतृत्वले राजीनामा दिनुपर्ने मागसमेत गरेका थिए । सामाजिक सञ्जालमा कांग्रेस कार्यकर्ताहरुले पार्टी नेतृत्वमाथि रोषपूर्ण टिप्पणी गर्न थालेका छन् ।
कांग्रेस सचिव उत्तम जोशीले यसका कमजोरी पक्षहरुलाई केलाएर नियोजित गल्तीलाई अनुशासनको दायरामा ल्याउने बताएका छन । यता, एमाले चितवनले पार्टीमाथि चुनावताका गरिएको अन्याय विरुद्धमा केही मतदाताले साहानभूति देखाएको टिप्पणी गरेको छ । एमाले जिल्ला उपाध्यक्ष तेजेन्द्रबहादुर खड्काले अस्वभाविक लाग्ने तर स्वभाविक परिणाम भएको दावी गरेका छन ।
‘कांग्रेसकै कतिपय साथीहरुले गठवन्धन नरुचाएको प्रस्ट देखिन्छ, त्यो मतमा अभिव्यक्त भएको छ । एक ढंगबाट भन्दा यो सचेत विद्रोह हो’ एमाले उपाध्यक्ष खड्काले भने, ‘राष्ट्रिय राजनीतिको प्रभाव र एमालेको आवश्यकताको वोध स्वाभिमानी सबै नेपालीलाई भएकै छ ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्