एनआरएनएको अध्यक्षमा भवन भट्टले उम्मेद्वारी दिने
जापानमा रहँदै आएका व्यवसायी भवन भट्टले गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । शनिबार काठमाण्डौमा बिशेष पत्रकार सम्मेलन गर्दै वर्तमान उपाध्यक्ष समेत रहेका भट्टले आफ्नो उम्मेदवारीको घोषणा गरेका हुन् ।
एनआरएन जापानको अध्यक्ष, एनआरएन अन्र्तराष्ट्रिय समन्वय परिषदको कोषाध्यक्ष हुँदै उपाध्यक्ष भएका भट्टले वर्तमान नेतृत्वले अघि बढाएको लाप्राक नमुना वस्ती निर्माणलाई समयमै सक्ने गरी काम गरिने बताएका छन । उम्मेदवारी घोषणाका क्रममा भट्टले लाप्राक वस्ती निर्माण लगत्तै दोलखामा अर्को वस्ती निमार्णको गृहकार्य अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरेका छन ।
उम्मेदवारी घोषणामा बोल्दै भट्टले वर्तमान अध्यक्ष शेष घले नेतृत्वले अघि सारेको एनआरएनएको भिजन ट्वान्टी–ट्वान्टी एण्ड वियोन्ड, समुहिक लगानीका परियोजना निर्माण लगायतका कार्यक्रमलाई निरन्तरता दिने बताएका छन ।
उनले एनआरएनएको भवन निर्माणलाई पनि प्राथमिकता दिने बताएका छन । वर्तमान नेतृत्वको एजेण्डालाई समर्थन गरेर जस लिन खोजेको हो कि भन्ने सञ्चारकर्मीको जिज्ञाशामा भट्टले एनआरएनएलाई अघि बढाउन भिजन ट्वान्टी–ट्वान्टीलाई स्वभाविक रुपमा ग्रहण गर्न लागिएको कुटनितिक जवाफ दिएका थिए ।
अहिलेसम्म एनआरएनएका बिभिन्न जिम्मेवारीमा रहेर सिकेका ज्ञान र अनुभवको प्रयोग गर्दै संस्थालाई अँझ सवल, गतिशील र गैरआवासीय नेपालीहरुको आस्थाको केन्द्र बनाउन आफु दृढ भएर लाग्ने भट्टले बताएका छन । उनले आफू एनआरएनएका बिभिन्न जिम्मेवारीहरु पार गर्दै यहाँसम्म आईपुगेको हुँदा अध्यक्षका लागि योग्य भएको दाबी गरेका छन ।
भट्टले उम्मेदवारी घोषणामा आफ्ना एजेण्डाका रुपमा एनआरएनएमा आवद्ध वैदेशिक रोजगारीमा रहेका नेपालीको बीमा गर्ने, स्टार्टअप फन्डको व्यवस्था गर्ने, स्मार्ट एनआरएनए बनाउने लगायतका योजना प्रस्तुत गरेका थिए ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्