यौनदुराचारी रामरहिमकी धर्मपुत्रीको व्यापक खोजी
मोरङ प्रहरीको बिभिन्न टोलीले भारतका यौन दुराचारी बाबा गुरमित राम रहिम सिंह इन्सानको कथित छोरी हनीप्रीतको गएराती व्यापक खोजतलाश गरेको छ । उनी बलात्कार अभियोगमा भारतको रोहतक जिल्लापीथत जेलमा सजाय भोगिरहेका रामरहिमकी कथित धर्मपुत्री हुन् ।
महिला समर्थकको बलात्कार गरेको अभियोग पुष्टी भएपछि अदालतले राम रहिमलाई गत २८ अगस्तमा २० बर्षको जेलसजाय सुनाएको थियो । उनीमाथि एक पत्रकारको हत्या र अन्य ३८ साधवीमाथि बलात्कार आरोपको छिनोफानो हुन बाँकी नै छ ।
रामरहिमलाई सजाय सुनाएलगतै उनकी आत्मीय सहयोगी भनिएकी हनीप्रीत एकाएक बेपता भएकी थिइन् । भारतका राष्ट्रिय सञ्चारमाध्यमले उनी विराटनगरमा डेरा सच्चा सौदाका अनुयायी प्रितम सिंहको घरमा बसिरहेको भनेपछि मोरङ प्रहरीले गएराती संभावित र शंकास्पद थलोहरुमा खोजी गरेको थियो ।
‘रातभरी खोज्यौं, प्रितम सिंह नाम भएको व्यक्ति नै विराटनगरमा फेला परेन,’ मोरङका प्रहरी प्रमुख उपरीक्षक अरुण बीसीले भने । हनीप्रीत यहाँ छन् भने उम्किन नदिने गरी सुराकीहरुसँगै सादा पोसाकमा प्रहरी परिचालन गरिएको उनले जानकारी दिएका छन ।
यससँग सम्बन्धित कुनै सूचना भएमा वा कतै शंकास्पद गतिविधि देखेमा खबर गरिदिन नागरिक समाजसँग प्रहरीले आग्रह गरेको छ । उनको पक्राउका लागि भारतीय प्रहरीले भने कुनै औपचारिक वा अनौपचारिक सहयोगका लागि नगुहारेको एक उच्च सुरक्षा स्रोतले बताएको छ ।
हनीप्रीतको लागि नेपालमा लुक्न सहज नहुने हुनाले अन्य कुनै छिमेकी मुलुकहरुतिर गएको हुनसक्ने एक उच्च सुरक्षा अधिकारीले विश्लेषण गरेका छन । भारतको हरीयानास्थित डेरा सच्चा सौदाका अनुयायी नेपालमा प्रशस्तै छन् । रामरहिमको धर्मपुत्रीको हैसियतमा रहेकी हनीप्रीत हरियाणा सिरसास्थित डेरासच्चा सौदाको मुख्य आश्रममा बस्दै आएकी थिइन् ।
रामरहिमको महत्वपूर्ण कार्य, निर्णय, यात्रा र समारोहमा उनको मुख्य भूमिका हुन्थ्यो । आश्रमका साधवी एवं आश्रमकै कलेजमा पढ्ने छात्राको बलात्कारमा रामरहिमलाई सहयोग गरेको र सजाय सुनाउने बेलामा अदालतमाथि दबाब दिनलाई लाखौँ अनुयायीहरुलाई उक्साएर हिंसा फैलाएको आरोप हनीप्रीतमाथि छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्