सुरु भयो मुख्य सचिवको दौड, तिन जना प्रतिस्पर्धामा
सरकारका मुख्यसचिव राजेन्द्रकिशोर क्षत्रीको पदावधि सकिनै लाग्दा नयाँ मुख्यसचिव बन्न सरकारका वरिष्ठ सचिवहरू दौडधुपमा लाग्न थालेका छन् । मुख्यसचिव क्षत्री आगामी ७ कात्तिकमा ५८ वर्षे सेवा अवधिका कारण अवकाश हुँदै छन् ।
‘दसैं तिहारको लामो बिदा पर्ने हुनाले अब मुख्यसचिवका रूपमा काम गर्न १८ दिन मात्रै बाँकी छ’, मुख्यसचिव क्षत्रीले भने । उनी गत २९ असारमा मुख्यसचिवमा नियुक्त भएका थिए ।
क्षत्रीको अवकाश मिति नजिकिँदै गर्दा निजामती क्षेत्रकै सबैभन्दा उच्च पदका रूपमा रहेको मुख्यसचिव बन्न मुख्यतः तीन जना सचिव प्रतिस्पर्धामा छन् । तत्कालीन मुख्यसचिव डा.सोमलाल सुवेदी पदावधि १ वर्ष बाँकी नै रहँदा पद त्यागेर एडीबीमा जागिर खान गएपछि क्षत्रीले छोटो अवधिका लागि मुख्यसचिव हुने अवसर पाएका थिए ।
हाल रहेका करिब ५० जना सचिवमध्ये ज्येष्ठताका आधारमा मुख्यसचिवको प्रतिस्पर्धामा गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवद्वय शंकरप्रसाद अधिकारी र ङइन्द्रप्रसाद उपाध्याय छन् ।
त्यसो त यी तीनभन्दा वरिष्ठ सचिवमा अर्थसचिव शान्तराज सुवेदी र शिक्षासचिव शान्तबहादुर श्रेष्ठ पनि छन् । तर, मुख्यसचिव क्षत्री सेवानिवृत्त हुनुभन्दा ५ दिनअघि नै यी दुवै सेवानिवृत्त हुने भएकाले उनीहरू मुख्यसचिवको प्रतिस्पर्धामा छैनन् । सुवेदी र श्रेष्ठ पाँचवर्षे सचिवको पदावधि सकेर २ कात्तिकमा सेवानिवृत्त हुँदै छन् ।
मुख्यसचिवको दौडमा गृहसचिव लोकदर्शन रेग्मी सबैभन्दा अघि छन् । एक उच्च अधिकारी भन्छन, ‘गृहसचिव रेग्मी जोसँग पनि सम्बन्ध राख्न सिपालु छन् । त्यसमा पनि प्रधानमन्त्री शेरबहादुर देउवा र आरजु राणासँग उनको विशेष सम्बन्ध छ । त्यसकारण यो दौडमा उनी अघि छन् ।’
मुख्यसचिवको प्रतिस्पर्धामा रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शंकरप्रसाद अधिकारीले आफू तीन जना प्रतिस्पर्धीमध्ये ज्येष्ठताका आधारमा आफू हुनुपर्ने दाबी गर्छन् । ‘मुख्यसचिव बनाउँदा ज्येष्ठतालाई नै मुख्य प्राथमिकता दिनुपर्छ । त्यसका आधारमा एक नम्बर मै हुँ । राजनीतिक नेतृत्वले यस विषयमा ध्यान दिन जरुरी छ’, सचिव अधिकारीले भने । ज्येष्ठताका आधारमा पहिलो नम्बरमा अधिकारी, दोस्रो नम्बरमा उपाध्याय र तेस्रो नम्बरमा गृहसचिव रेग्मी हुन् ।
अर्का प्रतिस्पर्धी ङइन्द्रप्रसाद उपाध्याय मुख्यसचिव बन्ने सम्भावना निकै न्यून छ । उनको राजनीतिक दलका नेतासँग खासै निकट सम्बन्ध छैन । मन्त्रीहरूले गर्न खोज्ने खराब काममा यिनले साथ नदिने गरेको भए पनि उनीमाथि निर्णय क्षमता कमजोर रहेको आरोप लाग्ने गरेको छ । उपाध्याय मुख्यसचिव नभए पनि ०७५ साल ६ साउनसम्म सचिवका रूपमा कार्यरत रहनेछन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्