सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानीको ६ करोड ठगेपछी अनुज थापा खोरमा

गैरआवासीय नेपाली संघ (एनआरएनए)को आठौं विश्व सम्मेलनमा सहभागी हुन जापानबाट आएका एनआरएनका आईसीसी सदस्य अनुज थापा ठगी आरोपमा पक्राउ परेका छन् ।

ठगी मुद्दामा उजुरी परेपछि महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई लैनचौरबाट पक्राउ गरेको हो । थापामाथि जापानी प्रोफेसर यामामोतो हिराकुको ६ करोड रुपैयाँ ठगेको आरोप लागेको छ ।

एनआरएनको एक कार्यक्रममा सहभागी भइरहेका बेला काठमाण्डौ प्रहरी परिसरबाट खटिएको टोलीले थापालाई पक्राउ गरेको हो । एसएसपी रवीन्द्रसिहं धानुकका अनुसार थापालाई काठमाडौं जिल्ला अदालतबाट न्यायिक हिरासतमा राख्ने अनुमती लिई ठगी अभियोगमा अनुसन्धान सुरु गरीसकिएको छ ।

जापानमा रेस्टुरेन्ट व्यवसाय गर्ने थापाले प्रोफेसर हिराकुलाई नेपालमा शिक्षाका अवस्था दयनीय रहेको भन्दै स्कुल खोल्नका निम्ति आर्थिक सहायता लिएका थिए । प्रहरीका अनुसार थापाले स्कुल निर्माणका लागि भन्दै ६ करोड रुपैयाँ लिएलगत्तै प्रोफेसर हिराकुसँग सम्पर्क बाहिर रहेका थिए ।

सम्झौता अनुसार स्कुल नबनाई उनले निजी घर गाडी खरिद गरेका थिए । स्कुल निर्माण भएको झुटो आश्वासन दिँदै आएका थापाले स्कुलबारे कुनै प्रगती विवरण नदिएपछि प्रोफेसर हिराकु आफुमाथि विश्वासघात भएको र रकम ठगिएको निष्कर्षमा पुगेको थिए ।

प्रोफेसर हिराकुले आफ्नो रकम फिर्ता दिन वा स्कुलको अवस्थाबारे बताउन आग्रह गरेपछि थापा जापानको रेस्टुरेन्ट भाडामा लगाएर बीचको केही समय नेपाल फर्केका थिए । बारम्बार झुक्काउँदै हिँडिरहेका थापालाई पक्रिन हिराकुले लामो समयदेखि प्रयत्न गरिरहेका थिए ।

एनआरएन सम्मेलनमा भाग लिनका निम्ति थापा नेपाल आएको थाहा पाएर प्रोफेसर हिराकुले प्रहरी परिसर काठमाडौंमा जाहेरी दरखास्त दिएका थिए । त्यसैका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । एनआरएन जापानको पछिल्लो निर्वाचनमा उनी अध्यक्षका प्रत्यासी समेत बनेका थिए । तर, चुनावको मुखमा उम्मेदवारी फिर्ता लिएपछि उनलाई आईसीसी सदस्य बनाइएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्