सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

दुबईबाट पक्राउ परे प्रेमिकाको हत्यापछी फरार प्रकाश

व्यापारीलाई अपहरण गरी फिरौती लिएपछि पोल खुल्ने डरले आफ्नै प्रेमिकाको हत्या गरी भागेर दुबईमा बस्दै आएका प्रकाश लामिछानेलाई प्रहरीले पक्राउ गरेर काठमाडौं ल्याएको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले इन्टरपोलसँग समन्वय गरी लामिछानेलाई

दुबईमा पक्रेर आइतबार साँझ काठमाडौं ल्याएको हो । भक्तपुर बागेश्वरीका लामिछानेविरुद्ध इन्टरपोलले ‘रेड कर्नर नोटिस’ जारी गरेको थियो ।

लामिछानेले धादिङ घर भएकी प्रेमिका राधिकालाई प्रयोग गरी मख्खन गल्लीमा न्यू डालिज साडी र साडी संसार पसल सञ्चालन गर्ने श्यामसुन्दर अग्रवालको अपहरण गरेका थिए । राधिका अग्रवालको पसलमा काम गर्थिन् ।

१० लाख ७० हजार रुपैयाँ फिरौती लिएपछि पोल खुल्ने डरले लामिछानेले राधिकाको हत्या गरेर भक्तपुरको मुहानपोखरीमा शव फालेका थिए । घटनामा संलग्न भएको भन्दै प्रहरीले किशोर गिरी र सरोज घोरासैनीलाई पक्राउ गरे पनि लामिछाने फरार थिए ।

यसरी भएको थियो अग्रवालको अपहरण र राधिकाको हत्या
लामिछानेको योजनाअनुसार राधिकाले साहु श्यामसुन्दरलाई ‘अर्जेन्ट’ काम छ भन्दै सनसाइन होटलमा बोलाएकी थिइन् । सोही होटलको अर्को कोठामा प्रकाश लामिछानेको समूह थियो ।

होटलमा भेटेपछि श्यामसुन्दर र राधिका दुबैले मदिरा सेवन गरे । त्यही मौकामा लामिछानेको समूहले अपहरण र्गयो ।

यो समूहले श्यामसुन्दरलाई कुटपिट गर्दै हातखुट्टा बाँधिदियो र मुखमा टेप लगाइदियो । १० लाख ७० हजार फिरौती लिएपछि उनलाई त्यहीँ छाडेर चारै जना भागे ।

अपहरणमा संलग्न चारै जना बसन्तपुर पुगेर रकम बाँडेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सरोज र किशोरले २–२ लाख पाए भने बाँकी रकम प्रेमी–प्रेमिका समेत रहेका प्रकाश लामिछाने र राधिकाले राखे ।

प्रहरीका अनुसार रकम बाँडेपछि राधिका प्रकाशकै घर गइन् । केहीबेरमा किशोर र सरोज पनि पुगे । तर, आफ्नो प्रेमिकाबाट अपहरणको पोल खुल्ने डर प्रकाश लामिछानेमा आयो ।

प्रहरी हिरासतमा रहेका किशोर गिरीले बताएअनुसार उनले प्रेमिकालाई नै मार्ने योजना बनाए । कार्टुन टेप मुखमा लगाइदिए र डोरीले हातखुट्टा बाँधेपछि प्रकाशले घाँटी थिचेर राधिकाको हत्या गरे ।

लगतै यो समूहले राधिकाको शव बोरामा प्याक गरेर मोटरसाइकलमा राखेर मुहानपोखरीमा खाल्डो खनेर र्पुयो ।

व्यापारी श्यामसुन्दर अग्रवाल फिरौती बुझाएर छुटेको खबरपछि प्रहरीले अपहरणकारीको खोजी थालेको थियो । त्यसक्रममा धादिङ घर भई कालिमाटी बस्ने २५ वर्षीया राधिकाको शव भक्तपुर मुहानपोखरीमा खाल्डोमा पुरेको अवस्थामा भेटियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्