सौता ल्याएपछी आगो लगाएर पतिको हत्या
भक्तपुरकोे मध्यपुरथिमि नगरपालिका–६ पुरानो थिमिमा एक महिलाले आगो लगाएर आफ्नै श्रीमानको हत्या गरेकी छन् । सिन्धुपाल्चोक माङ्खा घर भई पुरानो थिमिमा डेरा लिई बस्ने गीता नेपालले ४० वर्षीय पति विदुर नेपाललाई आगो लगाई हत्या गरेकी हुन् ।
प्रहरीका अनुसार सोमबार साँझ विदुरकी कान्छी श्रीमती माइत गएका बेला जेठी श्रीमती गीतासँग विवाद भएको थियो । सोही विवादमा गीताले विदुरलाई आगो लगाएको अनुसन्धानमा खुलेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिएका छन ।
घटनामा संलग्न गीतालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगोले जलेर घाइते विदुरको उद्धार गरी उपचारका लागि मध्यपुर अस्पताल लगिएको थियो ।
त्यहाँबाट थप उपचारका लागि नर्भिक अस्पताल लगिएकोमा त्यहाँ भर्ना नलिएपछि उनलाई किर्तिपुरस्थित वर्न सेन्टर लगिएको थियो । विदुरको उपचारका क्रममा वर्न सेन्टरमा नै मृत्यु भएको प्रहरीले बताएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्