राणा शासन र पञ्चायत फाल्यौं, अब कम्युनिष्टको पालो
प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले र माओवादीको बाम गण्ठबन्धनलाई इंगीत गर्दै नेपालका कम्युनिष्टहरुले तिव्र ध्रुवीकरण गरेर राष्ट्रियता कमजोर पार्ने प्रयास गरिरहेको आरोप लगाएका छन् ।
अखण्ड पार्टीका अध्यक्षसहितका नेता तथा कार्यकर्ता एवम् पूर्व सांसद तथा उद्योगपति सूर्यबहादुर केसी लगायतलाई पार्टी प्रवेश गराउन पोखराको प्रदर्शनी केन्द्रमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले कम्युनिष्टहरुले अधिनायकवाद ल्याउनका लागि तीव्र ध्रुवीकरण गरेको आरोप लगाएका हुन ।
अहिले देखिएको तीव्र ध्रुवीकरणले राष्ट्रियता कमजोर हुने उनको तर्क थियो । प्रधानमन्त्री देउवाले डर त्रासबाट मुक्त समाज कांग्रेसले मात्रै निर्माण गर्न सक्ने दाबी गरेका छन । कम्युनिष्टहरुले साम्यवादसम्म पुग्ने उद्देश्य राखेर ध्रुवीकरण गरिरहेको र त्यसले अधिनायकवाद भित्र्याउने भन्दै उनले डर त्रासमुक्त समाज निर्माणका लागि अबको निर्वाचनमा कांग्रेसलाई जिताउन आग्रह गरेका छन ।
उनले मंसीर १० र २१ गते हुने चुनाव सामान्य पार्टी पार्टीबीचको लडाईं मात्र नभएको बताउँदै भने–‘यो चुनाव लोकतन्त्रको लडाईं हो, प्रजातन्त्रको लडाईं हो र जनताको शासन स्थापना गर्ने लडाईं हो ।’
प्रधानमन्त्री देउवाले एकतन्त्रीय शासन कांग्रेसले दुईपटक फालिसकेको र अहिले कम्युनिष्ट अधिनायकवाद शासनबिरुद्धको लडाईं भएको बताउँदै भने–‘कांग्रेसले २००७ सालमा राणा शासन फाल्यौं, ०४६ सालमा पञ्चायत फाल्यौं, अब अधिनायकवाद लाद्ने कम्युनिष्टहरुलाई पराजित गर्छौं ।’
प्रधानमन्त्री देउवाले स्थानीय तह जित्दैमा घमण्ड नगर्न एमालेलाई चुनौति दिएका छन । स्थानीय तहको चुनावमा जनताले व्यक्ति र व्यक्तित्व हेर्दा कांग्रेस केही कमजोर बनेको तर संघ र प्रदेशको चुनावमा राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र डरत्रास मुक्त समाज निर्माणका लागि जनताले कांग्रेसलाई जिताउने प्रधानमन्त्री देउवाको दाबी छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्