सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जग्गाको बिवादमा खुकुरीद्धारा आफ्नै दाईको हत्या

उदयपुरको बेलका नगरपालिका–५ स्थित घुम्नेमा सोमबार साँझ जग्गाको विवाद हुँदा आफ्नै सहोदर भाइले खुकुरी प्रहार गरी दाजुको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय रामपुरका अनुसार ३५ बर्षिय भाई कृष्ण सदाले घुम्नेका ४५ वर्षीय बिसे सदाको हत्या गरेका हुन ।

इलाका प्रहरी कार्यालय, रामपुर ठोक्सिलाका अनुसार घर बनाउनका लागि कृष्ण सदाले दाजुसँग जग्गाको कुरा गर्दै आएका थिए भने दाजुले तत्काल भाइको कुरामा सहमति दिएका थिएनन् ।

सोमबार साँझ ८ बजेतिर दाजुभाइ भेट भएपछि मादक पदार्थ सेवन गरेका दुवै दाजुभाइबीच झगडा शुरु भएको र कृष्णले दाजुलाई घरभित्रबाट खुकुरी निकालेर टाउकोमा प्रहार गरेपछि दाजुको घटनास्थलमा नै मृत्यु भएको थियो ।

भाउजू सुमनी सदाले भाइले दाजुलाई खुकुरी प्रहार गरेको छल्न खोज्दा सुमनीको पनि हातको पाखुरामा गम्भीर चोट लागेको र हाल उपचार भइरहेको इलाका प्रहरी कार्यालय, रामपुरका प्रमुख सुवास राईले बताएका छन । दाजुको हत्या लगत्तै भाई कृष्ण फरार भएका छन । हाल प्रहरीले उनको खोजी गरिरहेको बताएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्