सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

अन्तत; ढुंगेल १२ बर्ष ५ महिना २२ दिन जेलमा

ओखलढुंगाको पोकलिका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वोच्चले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका माओवादी नेता बालकृष्ण ढुंगेल अन्तत; पक्राउ परेका छन । द्वन्द्धकालिन मुद्दामा सजाय सुनाईएका पुर्वसभासद ढुंगेल पार्टीको संरक्षणमा लुकिछिपि बस्दै आएका थिए ।

सातदोबाटोस्थित डेराकोठाबाट बाहिर निस्किने बित्तिकै सिआईविको घेरामा परेका ढुंगेललाई आजै जेल चलान गरिएको छ । बिहान करिब ११ बजेतिर पक्राउ परेका ढुंगेललाई त्यहाँबाट सिधै प्रहरी हेडक्वार्टर लगिएको थियो । अपरान्ह जिल्ला अदालत काठमाण्डौमा पेश गरिएका ढुंगेललाई अदालतको आदेश अनुसार डिल्लीबजार सदरखोरमा जेल चलान गरिएको हो ।

अदालतको आदेश अनुसार अब उनी १२ बर्ष ५ महिना २२ दिन जेलमा बस्नुपर्नेछ । पछिल्लो पटक सर्वोच्चले सात दिनभित्र ढुंगेललाई पक्राउ गर्न दिएको आदेश कार्यान्वयन नभएको भन्दै प्रहरी प्रमुख प्रकाश अर्यालविरुद्ध अदालतको अवहेलना गरेको मुद्दा समेत परेको छ । यो मुद्दा परे लगतै ढुंगेल पक्राउ परेका हु्न् ।

सदरखोर जेल चलान हुँदै गर्दा माओवादी नेता तथा पुर्वसभासद बालकृष्ण ढुंगेलले आफुलाई युद्धकालिन मुद्धा लगाएर फसाउन खोजिएको र यसले शान्ति पक्रिया भंग हुने चेतावनी दिएका छन । ओखलढुंगा २ बाट निर्वाचित सभासद भएकै बेला सर्बोच्चले फैसला सुनाएको थियो । बाबुराम भट्टराई सरकारले ढुंगेललाई आममाफीका लागी सिफारीस गरेपनि सर्बोच्चले निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछी ढुंगेल लुकिछिपि बस्दै आएका थिए ।

बालकृष्ण ढुंगेललाई पक्राउ गर्न केन्द्रिय अनुसन्धानको टोली खटिएको थियो । सादा पोषाकमा गएका दाह्रिवाल पुलिसले सातदोबाटोस्थित कोठाबाट केही बाहिर निस्किने बित्तिकै उनलाई अफिसमा लिएर आउनु भन्नुभएको छ भन्दै अफिस जान आग्रह गरेका थिए । दाह्रिवालले यसो भन्नेबित्तिकै फोन निकालेर फोन गर्न खोजेका ढुंगेललाई अर्का दाह्रिवालले फोन गर्न रोकेका थिए ।

ढुंगेललाई प्रहरीले पक्राउ गर्नासाथ उनका भाइले विनाविभागीय मन्त्री जनार्दन शर्मालाई टेलिफोन गरेर जानकारी दिएका थिए । त्यसलगत्तै ढुंगेल पक्राउ परेको खबर माओवादी हेडक्वार्टरमा पुगेको थियो । माओवादी नेताहरुले ढुंगेलको गिरफ्तारीलाई शान्ति प्रक्रियामाथिको हस्तक्षेप भन्दै प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले द्वन्द्धकालिन मुद्दा सत्य निरुपन तथा मेलमिलाप आयोगले हेर्नुपर्नेमा ढुंगेलको गिरफ्तारीले शान्तिप्रक्रियामाथी हस्तक्षेप भएको बताएकी छिन । उनले ढुंगेलको तत्काल रिहाई हुनुपर्ने पार्टीको माग रहेको बताएकी छिन ।

पारिवारिक स्रोतका अनुसार पक्राउ परेका ढुंगेलको एउटा मृगौला ड्यामेज भएको छ भने अर्कोले पनि थोरैमात्रै काम गरिरहेको छ । मृगौलापीडित ढुंगेलले ललितपुरस्थित सुमेरु अस्पतालमा उपचार गराएर नियमित औषधि सेवन गर्दै आएका थिए ।

ढुंगेल पक्राउ परेपछि हत्या गरीएका उज्जनकुमार श्रेष्ठकी दिदी सावित्रीले न्याय पाउन लामो समयसम्म अदालतसँग भिख माग्नुपरेको प्रतिक्रिया दिएकी छिन । हत्यारालाई पुरै सजाय भयो भने, सत्ता तथा अन्य कुनै प्रलोभनमा परेर सजाय छुट नहुने हो भने म देशमा न्याय मरेको रहेनछ भन्ने छु, सावित्रीले रुँदै भनिन–“हत्याराले पूरा सजाय भोगोस ।”

फेसबुकबाट कमेन्ट गर्नुहोस्