पोखरामा ३ भारतीय सुटरसहित १ नेपाली पक्राउ
प्रहरीले ३ जना भारतीय सुटर र १ जना नेपालीलाई पोखराबाट पक्राउ गरेको छ । प्रहरीले शुक्रबार साँझ पोखराको सिद्धार्थ चोकमा सामान किन्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेकाहरुको परिचय भने गोप्य राखेको छ ।
पक्राउ परेका भारतीय सुटरहरु भारतको राजस्थानमा आतंक मच्चाएर नेपाल छिरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, पक्राउ परेका ३ भारतीय सुटरहरु राजस्थानमा हप्ता असुलीदेखि हत्यासम्मका आरोपमा मुद्दा खेपिरहेका व्यक्तिहरु हुन् ।
पक्राउ परेका सुटरहरुमाथी ४ जना भन्दा धेरैैको हत्या गरेको आरोप र २५ भन्दा धेरै असुलीका मुद्दा रहेको प्रहरी दाबी छ । भारतको राजस्थान प्रहरीले नेपालको केन्द्रीय अनुसन्धान व्युरोलाई उनीहरुको बारेमा जानकारी गराएर खोजी गरिदिन केही समयदेखि आग्रह गर्दै आइरहेको थियो ।
भारतले आग्रह गरेको केही समयपछि उनीहरु पोखराबाट पक्राउ परेका हुन् । उनीहरुलाई सादा पोसाकमा गएका प्रहरीले प्रक्राउ गरेका थिए । भारतीय सुटर पोखरा छिरेको सूचनाका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउको क्रममा अपराधीको भागाभाग नै भएको थियो ।
प्रहरीले भारतीय सुटरहरुसँगै १ जना नेपालीलाई पनि नियन्त्रणमा लिएको छ । यद्यपि, ती नेपालीको पनि परिचय खुलाइएको छैन । प्रहरीले उनीहरुमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्