सुरक्षाको बहानामा सुनौलिमा नाकाबन्दीकै झल्को
सुरक्षाको कारण देखाउँदै नेपाल र भारतबीचको एक महत्वपूर्ण सीमा नाका सुनौलीमा भारतीय प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएपछि केही महिनायता त्यहाँबाट हुने आयात तथा निर्यात प्रभावित भइरहेको नेपाली अधिकारीहरुले बताएका छन् ।
नेपाली अधिकारीहरुले बताएअनुसार त्यसबारे भारत समक्ष धेरैपटक कुराकानी भईसकेको छ तर अवस्था पूर्ण समाधान हुन सकिरहेको छैन । नेपाली व्यवसायीहरुका अनुसार नेपाली तथा भारतीय अधिकारीहरुलाई उक्त समस्याबारे पटकपटक ध्यानाकर्षण गराइएको छ ।
सुनौली नाकामा भारतीय सिमा सुरक्षा बल एसएसबीले सुरक्षाको कारण देखाउँदै सामान पठाउन कडा गरेपछि सीमा पारीबाट सामान आउने क्रम स्वात्तै घटेको व्यवसायीहरुले बताएका छन् ।
सीमा पारी करिब २५ किलोमिटरसम्म मालबाहक ट्रकको लाइन रहने गरेको र समयमा सामान ल्याउन नसकिएपछि त्यसले व्यापारमा नकारात्मक असर परेको नेपाली व्यवसायीहरुले बताएका छन ।
व्यवसायीहरुका अनुसार भारतले पहिलेको तुलनामा २५ प्रतिशतमात्र गाडीहरु छोडेको छ । भारतको सरकारभन्दा पनि त्यहाँको प्रहरीले गाडी नछोडेर मुख्य समस्या दिएको व्यापारीको भनाई छ । समयमा सामान नआएपछि उद्योग संचालन र व्यापार व्यवसायमा असर परेको छ ।
हाल सुनौली नाकाबाट सामान नेपाल ढुवानी गर्न लामो समय लाग्ने र खर्च बढ्ने डरले भारतीय यातायात व्यवसायी पनि तर्कन थालेको गुनासो व्यवसायीहरुको छ । सीमा पारी देखिएको समस्या हल गर्न भारतीय अधिकारीहरुसंग थुप्रैपटक पहल भएको स्थानीय व्यावसायीहरुले बताएका छन् । तर भारतीय उच्च अधिकारीहरु फर्किएपछि समस्या फेरि उस्तै हुने गरेको छ ।
नेपाल सरकारले यस विषयमा सम्बन्धित भारतीय पक्षसंग कुराकानी गरिरहेको जनाएको छ । सुनौली नाकाको समस्या छिट्टै समाधान हुने राजस्व सचिव शिशिर ढुंगानाले बताएका छन ।
उनले भने, “स्थानीय तवरबाट स्थानीय भन्सार प्रमुखले त्यहाँको समकक्षी र त्यहाँका सुरक्षा निकायहरुसंगको समन्वयमा कोसिस गरिरहनु भएको छ । केन्द्रबाट पनि हामीले परराष्ट्र मन्त्रालय मार्फत भारतीय दूतावाससंग समन्वय गरेर यसलाई व्यवस्था गर्ने प्रयास गरेका छौं । अब बिस्तारै यो समस्या समाधान हुन्छ भन्नेमा हामी विश्वस्त छौं ।”
भारतीय पक्षले सीमा सुरक्षाको कारण देखाएकाले विषय संवेदनशील भएको र सीमा पारी हुने सुरक्षा व्यवस्थामा हस्तक्षेप गर्न नमिल्ने भनाइ कतिपय नेपाली अधिकारीहरुले राखेका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्