सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

रोल्पामा बर्षमानको टोलिमाथी ९ राउण्ड गोली चल्यो

चुनावी प्रचार अभियानका क्रममा रोल्पाको इरिबाङ गाउँ पुगेका वाम गठबन्धनका तर्फबाट रोल्पाबाट प्रतिनिधिसभाका उम्मेदवार एवं पूर्वअर्थमन्त्री वर्षमान पुनमगरको टोलीमाथि आइतबार गोली चलाएर अवरोध पुर्याइएको छ । अज्ञात समूहले दुईखोली गाउँपालिका ३ स्थित केवरी खोलानजिकै हतियार पड्काएर अवरोध प्रयास गरेको हो ।

प्रहरीका अनुसार पुनसहितको चुनावी अभियान टोली बागमारा पुग्नै लाग्दा केवरीखोला नजिकैको जंगलबाट आइतबार बिहान साढे ११ बजेतिर ९ राउन्ड गोली चलेको सुनिएको थियो । पुनको सुरक्षार्थ साथैमा रहेको प्रहरीले पनि ५ राउन्ड गोली चलाएको थियो ।

स्थानीयका अनुसार केवरी गाउँ पुग्ने बाटोमाथिको जंगलबाट बन्दुक पड्काइएको आवाज सुनिएको हो । तर, प्रहरीले पुनको टोलीलाई कडा सुरक्षासाथ सकुशल इरिबाङको बागमारा बजार पुर्याएको थियो ।

वाम गठबन्धनका तर्फबाट आइतबार इरिबाङको बागमारा बजारमा चुनावी सभा आयोजना गर्ने पहिलेकै निर्णय थियो । उक्त निर्णयअनुसार प्रहरीको कडा सुरक्षाका साथ पुनसहितका नेता सम्मिलित सभा सञ्चालन भएको छ ।

पुन सवार गाडीमाथि शनिबार मध्याह्न माडी–१ को भिताबाङ गाउँ नजिकैको पेदीखोलामा एम्बुस राखिएको थियो । उक्त घटनाबाट जोगिएर राङ्सीमा सभा गर्न पुगेका पुनले यसअघि नै उम्मेदवारको सुरक्षामाथि खतरा उत्पन्न भएको बताएका थिए ।

पुनसहित वाम गठबन्धनको निर्वाचन टोलीमा प्रदेशसभाका उम्मेदवार दीपेन्द्र पुन, प्रचार अभियानका जिल्ला संयोजक एमाले पोलिटब्युरो सदस्य गोकुल घर्ती, समानुपातिक उम्मेद्वारहरु माओवादी केन्द्रका जयपुरी घर्ती, हरिसरा घर्ती, एमालेका कुमार दशौदी र ईश्वरी घर्ती तथा एमाले अध्यक्ष हरिप्रसाद घर्ती लगायतका नेता कार्यकर्ता छन् ।

चुनावी टोलीमाथि अवरोध गर्न अज्ञात समूहले विभिन्न स्थानमा ढुंगा खसाउने एवं सडक अवरुद्ध समेत गरेको छ । पुन बा १५ च ८६२८ नम्बरको स्कारपियो जिपमा सवार छन् । उक्त जिपमाथि लक्षित गरेर शनिबार एम्बुस राखिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थीले गोली प्रहार भएको स्थानलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताएका छन । प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईले उम्मेदवारको प्रचार टोलीमाथि सामान्य रुपमा अवरोध गर्न खोजिए पनि सुरक्षाफौजले पुनसहितको टोलीलाई गन्तव्यमा पुर्याउन सफल भएको बताएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्