सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

यसरी भएको थियो शरद गौचनको हत्या (भिडियोसहित)

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्या भएको ३६ दिन पछि प्रहरीले हत्याका आरोपी पाँच जनालाई सार्वजनिक गरेको छ । मंगलबार पुलिस क्लब भृकुटीमण्डपमा पत्रकार सम्मेलन गर्दै प्रहरीले हत्यामा प्रत्यक्ष संलग्न पाँच अभियुक्तहरुलाई सार्वजनिक गरेको हो । यद्यपि हत्याका मुख्य योजनाकारहरु भने अँझै फरार रहेका छन् ।

गत असोज २३ गते काठमाडौंको शान्तिनगरबाट नयाँ बानेश्वर जाने क्रममा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनमाथि गोली हानी हत्या भएको थियो । उनको हत्यापछि अनुसन्धान थालेको प्रहरीले अभियुक्तहरुलाई काठमाडौंका विभिन्न ठाँउका साथै काठमाडौं बाहिरबाट पक्राउ बताएको छ ।

हत्याराहरुले गौचनलाई एक महिना अघिदेखि पछ्याइरहेको घटनाको अनुसन्धान गरिरहेको टोलीका प्रमुख डिआइजी गणेश केसीले बताएका छन । गौचन हत्यामा सुटर(गोली हान्ने व्यक्ति)को भूमिका निभाएका नुवाकोट पञ्चकन्या गाँउपालिका ५ का २१ बर्षका राविज स्याङ्तानलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।

पक्राउ परेका अन्यमा हतियार तथा मोटर साइकल ब्यवस्थापक पर्सा, कालिकामाई गाँउपालिका १ का ३५ बर्षका शिवजी महतो, हतियार ब्यवस्थापक भारत बेतिया, ग्राम पञ्चायत चौबेटोला ७ बस्ने २४ बर्षका मुकेश कुमार पाण्डे, मोटरसाइकल ब्यवस्थापक ठोरी गाँउपालिका ५ बस्ने बर्ष १८ का सन्तोष गुरुङ, घटनामा सहयोगीको भूमिका निर्वाह गरेका काठमाडौं नागार्जुन नगरपालिका ४ बस्ने बर्ष २२ का प्रकाश बुढाथोकी पक्राउ परेका हुन् ।

यसरी भएको थियो गौचनको हत्या

निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचन असोज २३ गते पौने ३ बजे आफ्नो कारमा शान्तिनगरबाट नयाँ बानेश्वर तर्फ जाँदै गर्दा प्रयाग मार्गको चोकमा गोली प्रहार भयो । गौचनका चालकले कार चलाइरहेका बेला चालकको अगाडि सिसामा इटा प्रहार भयो भने लगतै गौचनमाथि २ राउण्ड गोली हानेर हत्या गरियो ।

प्रहरीले गौचनमाथि प्रहार गरिएको गोली फरक फरक भएको जनाएको छ । एकजना सुटर राजिव स्याङ्तान रहेको प्रहरीको निष्कर्ष छ । प्रहरीले अनुसन्धानका क्रममा फेला पारेको सिसी टिभी फुटेजका आधारमा हत्यापछि मोटरसाइकलको पछाडि बसेर फरार भएका थिए ।

गौचनमाथी गोली हान्ने व्यक्तिले गोली प्रहार गरेर भाग्दै गर्दा ज्याकेट र टोपी लगाएको अवस्थामा (तस्विरमा)

उनले हत्या गर्दा टोपी र ज्याकेट लगाएका थिए । बाटोमा टोपी र ज्याकेट फ्याँक्दै आफ्नो हुलिया बद्ल्दै सिनामंगलतर्फ भागेका थिए । उनले हत्या गरेको दिन लगाएको छिर्के मिर्के कपडामै प्रहरीले पक्राउ गर्न सफल भएको जनाएको छ ।

हत्याराहरुले एक महिना अघि देखि नै गौचनलाई हत्याका लागि निगरानी गर्दै आइरहेका थिए । हत्याका लागी उनीहरुले भारतबाट मोटरसाइकल चोरी गरी नेपाली नम्बर प्लेट प्रयोग गरेका थिए । प्रहरीले बरामद गरेको नेपाली प्लेट नं. बा ३५ प. २४६१ भएको मोटर साइकल हत्यामा संलग्न शिवजी महतोले भारतको बेतियाबाट नेपाली रुपैयाँ १८ हजारमा खरिद गरी श्याम गुम्बे गुरुङलाई बिक्री गरेका थिए ।

गोली प्रहार गरेर भागेको केही मिनेटपछी ज्याकेट र टोपी फालेर टिसर्टमा हत्यारा । हत्यारा यही टिसर्टमा पक्राउ परेका छन ।

यस्तै शिवजी महतोले भारतको बेतियाबाट नेपाली रुपैँया ५५ हजारमा हतियार खरिद गरी ६५ हजार नेपाली रुपैँयामा श्याम गुम्बे गुरुङलाई बिक्री गरेका थिए । सोही मोटरसाइकल हत्याका लागि प्रयोग भएको र गौचनलाई प्रहार गरिएको गोली फरक फरक हतियारबाट प्रहार गरिएको प्रहरीको निष्र्कष छ ।

आजबाट घटनाको औपचारिक अनुसन्धान शूरु भएकोले हत्याका बारेका बिस्तृत अनुसन्धान पछि थाहा हुने महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका प्रमुख एआइजी जयबहादुर चन्दले जानकारी दिएका छन ।

हत्याको कारण फिरौती, सुटरहरुको काम उधारोमै

गौचन हत्याको मुख्य कारण फिरौती रकम रहेको प्रहरीको निष्कर्ष छ । पारिवारिक स्रोतले दिएको जानकारी र हत्याराहरुको दावीका आधारमा फिरौतीका लागि हत्या भए पनि कति रकम मागेको भन्ने खुलेको छैन ।

हत्याका मुख्य योजनाकार समिरमान सिंह बस्नेत रहेको प्रहरीको भनाई छ । अहिले पक्राउ परेका अभियुक्तहरु योजनाको कार्यान्वनकर्ता मात्र रहेको र उनीहरुले हत्याबापत पाउने रकम समेत नपाएको प्रहरीले जनाएको छ ।

हत्याका योजनाकारसमेत रहेका ८ जनाको समूह भने फरार रहेको प्रहरीको भनाई छ । समिरमान सिंह बस्नेत, मनोज पुन, लोप्साङ, बोका भनिने गंगा लिङ्देन लिम्बु, श्याम बहादुर गुम्बे, काले दाई भन्ने अम्बर बहादुर राना, रोशन बुढाथोकी र अजय थापा रहेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS