सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मञ्चमै ढले पाख्रिन, मञ्चबाटै भयो मृत्युको घोषणा

भरतपुरमा भएको बाम गठबन्धनको चुनावी सभामा आईतबार निधन भएका प्रचण्डपुत्र प्रकाशको सम्झनामा गित गाउँदागाउँदै बेहोस भएका जनवादी गायक खुशिराम पाख्रिनको निधन भएको छ । जनवादी गायकलाई गित गाउँदै गर्दा हृदयघात भएको थियो ।

हृदयघात भई ढलेका उनलाई तत्कालै चितवनस्थित नारायणी सामुदायिक अस्पतालमा लगिएको थियो । तत्कालै अस्पताल पुर्याईए पनि उनको उपचारका क्रममा निधन भएको थियो । पाख्रिनले चुनावी सभा सुरु हुनु अघि दुई वटा गीत समेत गाएका थिए ।

उनले ‘उठ जाग यूवा’हरु बोलको गीत गाएर यूवाहरुलाई उत्साहीत बनाएका थिए । त्यसपछि उनी मञ्चमा बसे । त्यसको केहीबेरपछि उनले अप्ठ्यारो भयो भन्दै असहज माने । लगत्तै ढले ।

लगत्तै उनलाई अखिल क्रान्तिकारी पूर्व उपाध्यक्ष गोपाल न्यौपाने लगायतका माओवादीका स्थानीय नेताले अस्पताल लगे । अस्पताल जाँदाजाँदै पाख्रिनले बाटोमा वान्ता गरेका थिए । न्यौपानेका अनुसार उनको शरीर चिसो भैसकेको थियो ।

उनी अचानक ढलेपछि उनलाई उपचारका लागि नारायणी सामुदायिक अस्पताल लगिएको थियो । अस्पतालमा लगेपछि त्यहाँ डाक्टरले ढिला भैसकेको खवर सुनाए । डाक्टरका अनुसार जनगायक तथा पूर्व सांसद खुसीराम पाख्रिनलाई हृदयघातले मृत्यु भएको हो ।

पहिला अस्पताल र स्थानीय प्रहरीले उनको मृत्युको पुष्टी गरे । पछि जुन मञ्चमा उनी ढलेका थिए, त्यहीँबाट मृत्यु भएको घोषणा गरियो । भरतपुर–९ को हाकिमचोकमा आज बामगठबन्धनको चुनावी सभा थियो । उनी त्यहीँ सहभागी हुन आएका थिए । तर, त्यही नै उनको अन्तिम कार्यक्रम बन्यो ।

पाख्रिनले २०३८ सालदेखि निरन्तर जनवादी गीत गाउँदै आएका थिए । माओवादीको बहुचर्चित चुनवाङ बैठकमा प्रचण्ड र बाबुरामसहितका माओवादी नेतालाई रुवाउने गीत उनै पाख्रिनले नै लेखेका थिए । पहिलो संविधानसभामा उनी सांसद थिए । उनी भरतपुर महानगरपालिका १९ का वासिन्दा हुन् । उनका कान्छा छोरा जनयुद्धका सहीद हुन् ।

को हुन् त खुशिराम पाख्रिन ?

नेकपा माओवादीका तर्फवाट निवर्तमान सभासद समेत रहेका पाख्रिनले विगत ३५ बर्षदेखी जनवादी गीत लेख्दै आएका छन । एक सयभन्दा बढी गीतमा आफैले स्वर दिएका पाख्रिनले ५ सय बढि गीत लेखेका छन । माया प्रितिभन्दा जनबादी गीतमा जीवन्तता हुने भएकोले आफूले जनताको पक्षमा गीत गाउँदै हिडेको उनी बताउँछन् ।

‘सगरमाथाको काखमा नेपाल देश छ’ भन्ने बोलको गीतवाट जनवादी गीत लेख्न सुरु गरेका पाख्रिनले माओवादी जनयुद्धको क्रममा कयौँ गीत लेखेका थिए । त्यसैको सम्मान स्वरुप माओवादीले उनलाइ सभासद बनाएको थियो । ‘डाडाँ काडाँ फूटालेर बाटो बनायो, के पायो नि कुल्ली दाईले ड्राइभरले ट्रयाक्सी गुडायो ’ भन्ने गीत ०३८ सालमा लेखिएको उनको चर्चित मध्येको एक हो ।

‘कालो बनको बीचैमा खेतालाको गाउँ, हाम्रो देशको व्यबस्था हेर्न त्यहाँ जाउँ ।’ भन्ने गीतपनि चलेको गीत हो । त्यसैगरी ‘लाल झुपडिका मान्छेहरु..’ ‘न्यायपूर्ण युद्धको लहरले..’ ‘रक्त क्रान्तिको बेला हो यो..’ र ‘लडदै छौ मुक्ति युद्ध..’ नामका गीतहरु उनका चर्चित छन् । वि.स.२००९ सालमा गोर्खाको खरिवोट सिस्नेमा जन्मेका पाख्रिन इच्छुक सास्कृतिक प्रतिष्ठानका अध्यक्ष समेत हुन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्