सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

निर्माण अन्त्यतिर तामाकोशी किन अड्काउँदैछ भारत

निर्माणाधीन चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजना भारतीय कम्पनी टेक्सम्याकाको अटेरीका कारण समयमा सम्पन्न नहुने देखिएको छ । उक्त आयोजनामा हाइड्रोमेकानिकलका सामान आयात तथा जडान गर्ने जिम्मा टेक्सम्याकाले पाएको छ ।

आयात गर्नुपर्ने सामानको आधाजसो मात्रै हालसम्म आयोजना स्थलमा र्पुयाएको छ । उक्त कम्पनीलाई पेनस्टक पाइप जडान र ड्याम साइटका गेटहरु निर्माण गर्ने जिम्मा छ ।

आयोजना समयमै सम्पन्न भए भारतबाट वर्षायाममा बिजुली आयात गर्नु पर्दैन । त्यसबाट भारततर्फ बर्सेनि बाहिरिने रकमसमेत घट्छ । तर, समयमै निर्माण सम्पन्न गर्न भारतीय कम्पनी नै बाधक देखिएको छ ।

गत वर्ष विद्युत प्राधिकरणले भारतबाट बिजुली आयात गरेवापत १५ अर्ब ७८ करोड रुपैयाँ भुक्तानी गरेको थियो । हिउँदमा भारतबाट करिब तीन सय मेगावाट बिजुली आयात हुने गर्छ ।

टेक्सम्याकोले हालै आयातको काम अगाडि बढाएको छ । आयोजनाका पेनस्टक पाइपमध्ये केही सिमरासम्म आइपुगेका छन् । सामानहरु समयमै आयात नगर्दा आयोजना नै प्रभावित हुने देखिएको छ ।

केही समय अघिसम्म असार ०७५ सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । तर, उक्त कम्पनीले समयमै काम अगाडि नबढाएपछि पुस ०७५ तिर मात्रै उत्पादन थाल्ने योजना बनाइएको छ ।

आयोजनाका प्रवक्ता गणेश न्यौपानेका अनुसार टेक्सम्याको कम्पनीले आवश्यक कामदार राख्न पनि आनाकानी गरिरहेको छ । सोही कम्पनीको ढिलासुस्तीका कारण सिभिलको जिम्मा लिएको चिनियाँ कम्पनी सिनो हाइड्रोको काम पनि ढिलो हुने देखिएको छ ।

सुरुङमा रहेको ‘भर्टिकल साफ्ट’मा पेनस्टक पाइप जडान गर्ने काम टेक्सम्याकोको हो । यसमा कन्क्रिटाइजेसन गर्ने जिम्मा भने सिनो हाइड्रको छ । कुल आठ दशमलव चार किलोमिटरको सुरुङमा दुई वटा भर्टिकल साफ्ट बनाइएको छ, जसमा पेनस्टक पाइप जडान गर्नुपर्छ ।

आयोजनाका अधिकारीहरुका अनुसार हालसम्ममा टेक्सम्याकोले कम्तिमा एउटा पेनस्टक पाइप र ड्याममा दुई वटा गेट जडान गरिसक्नुपर्ने थियो । आयोजनाको सुरुङ आइतबार बिहान ब्रेक थ्रु भइसकेको छ ।

तर, अहिलेसम्म न पेन स्टक पाइप जडान भएको छ, न त गेट नै । आगामी वर्षसम्ममा चार वटै गेट जडान गरिसक्नुपर्छ । हालसम्म दुई वटा गेट जडान भइसक्नुपर्ने हो ।

कामको गति यस्तै रहे माघ ०७५ मा पनि विद्युत उत्पादन सम्भव नरहेको अधिकारीहरु बताउँछन् । किनकि, पेनस्टक पाइप जडान गरेपछि त्यसमा कन्क्रिटाइजेसन गर्न कम्तिमा १० महिना लाग्छ ।

३५ अर्ब ३० करोड रुपैयाँमा निर्माणाधीन छ, उक्त आयोजना । डिसेम्बर २०११ मा भारतको पीटीसीसँग भएको विद्युत व्यापार सम्झौताअनुसार ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइनबाट डेढ सय मेगावाट नेपालले आयात गर्नैपर्ने बाध्यता छ ।

माथिल्लो तामाकोशीको क्षमता चार सय ५६ मेगावाट हो । उक्त आयोजनासँगै अन्य निजी लगानीकर्ताका जलविद्युत आयोजना पनि सञ्चालनमा आउनेछन, जसका कारण केही वर्षमै नेपाल विद्युतमा आत्मनिर्भर बन्न सक्छ ।

माथिल्लो तामाकोशीको स्थलगत अध्ययनमा पुगेका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘अब बाहिरबाट आयातीत ग्यासलाई प्रतिस्थापन गर्नुपर्छ, त्यसका लागि विद्युत नै हाम्रा लागि उपयुक्त विकल्प हो ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS