जापानमा अमेरिकी जलसेनाको विमान दुर्घटना
अमेरिकी जल सेनाको विमान जापानको ओकिनावाको दक्षिण पश्चिममा रहेको समुद्रमा दुर्घटनाग्रस्त भएको छ । अमेरिकी जल सेनाले जारी गरेको विज्ञप्तिमा यात्रु र चालक दलका सदस्यसहित विमानमा ११ जना सवार रहेको उल्लेख गरिएको छ ।
दुर्घटना बुधबार दिउँसो स्थानीय समय अनुसार २ बजेर ४५ मिनेटमा भएको थियो । यात्रु र चालक दलका सदस्यहरुको नाम अहिलेसम्म खुलाइएको छैन । अहिले खोजी र उद्धार कार्य जारी रहेको र युएसएस रोनाल्ड रेगनका मेडिकल स्टाफले विमानमा सवारहरुको स्वास्थ्य स्थितिबारे जानकारी गराउने बताइएको छ ।
विमान फिलिपिन्सको समुद्रमा रहेको युएसएस रोनाल्ड रेगन युद्धपोतका लागि उडेको थियो । दुर्घटनाको कारण अँझै खुलाईएको छैन । तर, जापानका रक्षामन्त्री इटसुनोरी ओनोडेराले अमेरिकी जल सेनाका अधिकारीहरुलाई उद्धृत गर्दै विमानको इन्जिनमा समस्या देखिएपछि दुर्घटना भएको जानकारी दिएका छन् । विमान दुर्घटनाको थप विवरण आउन बाँकी छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्