सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

किन जान दिईँदैन महिलालाई मलामी ?

हिन्दु धर्मको परम्परा अनुसार, मृत शरीरलाई जलाउने बेला महिलाहरूलाई मलामी लानुहुँदैन भन्ने विश्वास गरिन्छ । तर, किन थाहा छ ? आज हामी तपाईँहरूलाई प्राचीनकालमा महिलाहरूलाई किन मलामी लिईदैँनथ्यो भनेर केहि कारणहरूको बारेमा जानकारी गराउन चाहान्छौँ ।

महिलाहरूले विशेष गरी घरायसी काम गर्ने र पुरुषहरूले घरबाहिरको काम सम्हाल्ने अधिकांस घर परिवारमा चल्दै आएको प्रथा हो । यो प्राचिन समय देखि नै यसैगरि चल्दै आएको छ । समय बित्दै जाँदा यो नै परम्परा अनि संस्कृति बन्यो । घरायसी काम महिलाले र परिश्रम बढी गर्नुपर्ने घर बाहिरका काम पुरुषले गर्ने चलन बन्यो ।

मलामी जाने चलन पनि यही सोचबाट संस्कारका रुपमा बदलिएको जनविश्वास रहेको छ । महिला मलाली जानु हुन्न वा पुरुष मात्र मलामी जानु पर्छ भन्ने कहिँ कतै शास्त्रमा स्पष्ट उल्लेख गरेको भेटिँदैन । बिना कारण केवल प्रथा चल्दै आएकाले नै महिला मलामी जान हुन्न भन्ने विश्वास गरिन्छ । प्राचीन कालमा भने महिलालाई मलामी नलानुका कारणहरू यस्ता थिए;

१. मलामीबाट फर्केकालाई चोख्याउन महिला घरमा बस्नुपर्ने
प्राचीन दिनहरूमा पुरुषहरूले लासलाई घाटमा लगेर जलाउँदै गर्दा महिलाले घरको काम धन्दा भ्याउनुपर्ने हुन्थ्यो । साथै, घाटमा गएर फर्केका मलामीहरू घर फर्किएपछि आगोको धूपले पवित्र बनाउनुपर्ने हुन्थ्यो त्यसकारण महिलाहरू घरमै बस्ने गरेको पाईन्छ ।

२. शव जल्दै गरेको डरलाग्दो दृश्य हेर्न महिलालाई गाह्रो
लास जलाउने काम कमजोर मुटु भएकाले गर्ने काम होइन । अघि भर्खरसम्म जिउँदै देखेको मानिसलाई अहिले जलाएको हेर्नुपर्दा जस्तो सुकै कठोर मन पनि भक्कानिन्छ । यस्तो भयानक दृश्य महिलाहरूले हेर्न सक्दैनन् र सम्हालिन गाह्रो हुन्छ भनेर पनि पहिलेपहिले महिलालाई मलामी नपठाईएको पाईन्छ ।

३. शव जल्न समय लागदा घरको काम वित्ने
हिन्दु धर्मअनुसार, कुनै पनि मानिसको अन्तिम संस्कार गर्दा शरीरलाई पुर्ण रूपमा जलाउनुपर्दछ । कसैको शरीर त केहि घण्टामै जल्दछ भने कसैको निकै समय पनि लाग्न सक्छ । यस्तो अवस्थामा घरमा बालबच्चा अनि गाईवस्तुको हेरचाह गर्नुपर्ने हुनाले पनि त्यतिबेला महिलाहरूलाई घरमै राख्ने गर्दथे ।

४. महिलालाई आत्माले आक्रमणको भय
मसानघाटमा तड्पिएर बसेका आत्माहरूको (भूत) उपस्थिती हुन्छ भन्ने विश्वास गरिन्थ्यो र गरिन्छ । यस्ता ‘भूत’ले कमजोर हृदय भएका महिलाहरूलाई आक्रमण गरेर शरीरलाई अधीनमा लिन्छन् भन्ने विश्वासले पनि महिलाहरुलाई मशानघाट नलगिएको हुनसक्छ । विशेष गरी कुमारी केटिहरूलाई यस्ता भूतले बढि रुचाउने पनि विश्वास गरिन्छ । त्यसैले पनि मसानघाटमा महिलाहरूलाई जान प्रतिबन्ध लगाइएको थियो भन्ने गरिन्छ ।

५. ‘आँशु’ले आत्माको बाटो छेक्छ भन्ने संस्कार
‘आँशु’ले आत्माको बाटो छेक्छ भन्ने हिन्दु धर्मको संस्कारमा विश्वास गरिन्छ । मरेको मान्छेको अन्तिम संस्कार गरिसकेपछि मात्रै आत्माले बिदा पाउँदछ र यदि त्यहाँ एकथोपा पनि आँशु खस्यो भने त्यो आत्मा सँधै त्यहिँ अड्केर बस्दछ भन्ने चलन छ । महिलाहरूले सजिलै आफ्नो आँशु रोक्न सक्दैनन भनेर पनि मसानघाटमा जान नदिईएको भन्ने विश्वास रहीआएको छ ।

प्रथा र संस्कृति समय अनुसार परिवर्तन गरिनु आवश्यक हुन्छ । परिवर्तन गर्दा सहज अनि अर्थ बोक्ने प्रथा जरुरी हुन्छ । नत्र प्रथा रुढीवादी हुन्छ, काम नलाग्ने हुन्छ अनि प्रथा र संस्कृतिको अर्थ अथर््याउन नसक्दा त्यो प्रथामा चलिरहनुको कुनै अर्थ रहदैन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्