रोल्पा र रुकु्ममा सेनाको ‘स्पेशल टास्क फोर्स’
रुकुम र रोल्पाको चुनाबमा सम्भाबित खतरालाई मध्येनजर गर्दै सुरक्षाका लागी नेपाली सेनाको स्पेशल टास्क फोर्स परिचालन गरिएको छ । सुरक्षाको मुख्य जिम्मेवारी सम्हाल्ने गरी सेनानीको नेतृत्वमा १०० जनाको टोली स्थायी रुपमै रुकुमको पुर्वी क्षेत्रमा खटिएको हो ।
भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि रोल्पाका सबैजसो मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी खटाईसकिएको छ । उच्च सुरक्षाका साथ सबै केन्द्रमा निर्वाचन टोली र सामग्री पुर्याइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले रुकुमले जनाएको छ ।
कार्यालयले पूर्वी र पश्चिमी दुई भागमा विभाजन गरी कर्मचारी टोली पठाएको हो । ‘सबै टोलीलाई सुरक्षाकर्मीसहित मतदान केन्द्र पठाइसकेका छौं,’ मुख्य निर्वाचन अधिकृत वासुदेवलाल श्रेष्ठले भने, ‘अहिलेसम्म कहींकतै समस्या आएको छैन । टोलीले काम सुरु गरिसकेको छ ।’
रुकुममा ८० मतदान स्थल र १ सय ६० मतदान केन्द्र रहेका छन् । ६० भन्दा बढी मतदान स्थललाई अति संवेदनशील सूचीमा राखिएको छ । हरेक मतदान स्थलको भित्री घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी खटाइएको छ भने बाहिरी घेरामा सशस्त्र प्रहरी बल परिचालन गरिएको छ ।
नेपाली सेनाले भने मतदानस्थल आसपास गस्ती गर्नेछ । रुकुममा सबैगरी करिब ४ हजार सुरक्षाकर्मी खटाइएको छ । नेपाली सेनाले निर्वाचन सुरक्षाका लागि रोल्पा र रुकुम पूर्वमा ‘स्पेसल टास्क फोर्स’ खटाएको छ । स्रोतका अनुसार निर्वाचनविरोधी गतिविधि वृद्धि भएपछि सेनाले सुरक्षाको प्रमुख जिम्मेवारी लिएर टोली खटाएको हो ।
दुवै जिल्लाका लागि रोल्पास्थित खडदल गणले प्रमुख कमान्डिङ गरिरहेको छ । रुकुम पूर्वमा उक्त गणबाटै सेनानीको नेतृत्वमा करिब १ सय जनाको टोली स्थायी रूपमा खटाइएको छ ।
पुर्वी रुकुमका मतदान केन्द्र सञ्चारविहीन
रुकुम पूर्वमा ३१ मतदान स्थल र ४२ केन्द्र छन् । तीमध्ये २६ मतदान केन्द्र सदरमुकामसित सम्पर्कविहीन छन् । पुथाउत्तरगंगा, भूमे र सिस्ने गाउँपालिका गरी ३ स्थानीय तह रहेको जिल्लाको सबैभन्दा ठूलो चुनौती भनेकै सञ्चार अभाव हो ।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र सापकोटाका अनुसार पुथाउत्तरगंगा गाउँपालिकाका अधिकांश मतदान केन्द्रमा फोन सम्पर्क छैन । सिस्ने र भूमे गाउँपालिकाका केही केन्द्रमा पनि टेलिफोन पहुँच छैन ।
पुथाउत्तरगंगा १४ को सेपेधुरी र १२ को विर्गुम खानीमा रहेको नेपाल टेलिकमको टावरमा खराबी भएपछि उक्त गाउँपालिकाका अधिकांश केन्द्र फोन सम्पर्कविहीन भएका हुन् । यस गाउँपालिकाका १२ मतदान केन्द्रमा सञ्चार सुविधा छैन । भूमे गाउँपालिकाका ९ केन्द्रमा पनि सजिलै फोन सम्पर्क भइरहेको छैन ।
सिस्ने गाउँपालिकाका ५ केन्द्रको अवस्था पनि उस्तै छ । निर्वाचन कर्मचारीले केन्द्रका गतिविधिबारे जिल्लामा खबर पुर्याउन प्रहरीको सञ्चारसेटबाट काम चलाइरहेका छन् । ती सेटले पनि मतदान केन्द्रमा नेटवर्क टिप्दैनन् । प्रहरी सेटले पनि मतदान केन्द्रभन्दा माथिको डाँडामा गए मात्र काम गर्छ । कतै केही भइहाले तत्काल एक्सन लिन गाह्रो छ ।









फेसबुकबाट कमेन्ट गर्नुहोस्