सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

हेडलाईनर केपी ओलीका ‘ओली वाणी अफ द डे’

आफ्नो वाकपटुताका कारण सँधै चर्चामा रहने एमाले अध्यक्ष केपी शर्मा ओली यो चुनावी माहोलमा दिनैपिच्छे नयाँ नयाँ किस्साले झन चर्चामा आईरहेका छन । दिनैपिच्छे केही न केही रमाईलो र घोचिलो पेचिलो उनको बोली मिडियामा खुबै बिक्ने गरेको छ ।

मंगलबार पनि राजधानिमा भएका चुनाबी सभामा उनले यस्तै बोलेर अनलाईन मिडियाको हेडलाईन क्रियट गरिदिएका छन । ललितपुरको लगनखेलमा चुनावी सभालाई सम्बोधन गरिरहेका बेला नजिकै बम बिस्फोट भएपछी उनले विप्लवलाई ‘ओलीको शब्द गोली’ प्रहार गरेका थिए ।

ओली बोलिरहेका थिए, नजिकै बम पड्कियो अनि उनले विप्लवलाई संकेत गर्दै भने–‘निर्वाचन नभए के हुनुपर्ने हो ? के अब खेदिएको राजालाई ल्याएर फेरि थपक्क राखिदिनुपर्ने हो ? कि बम पड्काउनेलाई नै ल्याएर राजा बनाइदिने हो ?’ उनले बम पड्काएर बिनाशको बाटो नलाग्न र अन्जान बालक झैँ नबन आग्रह गरेका थिए ।

यता बानेश्वरमा भएको अर्को चुनाबी सभामा ओलीले रविन्द्र मिश्रमाथी पेचिलो प्रहार गरेका छन । ओलीले मिश्रलाई मेस्सीले खेलेको ठाउँमा गोल गर्छु भन्ने आँट नगर्न सुझाव दिएका छन । उनले विवेकशिल साझा पार्टीका उम्मेद्वार मिश्रलाई राजनिति सिक्दै गरेको केटाकेटी भन्न भ्याएका छन ।

वानेश्वरको सभामा ओलीले मिश्रप्रति लक्षित गर्दै भन–‘खेलाडीहरु मैदानमा खेलिरहेका हुन्छन, केटाकेटीहरु छेउमा सिको गरिराखेका हुन्छन् । सिक्नु र खेल्नु बैग्लै कुरा हो । अहिले हामी यस्तो म्याच खेलेका छौं, जहाँ गोल गर्नैपर्छ । मेस्सीले खेल्दै गरेको ठाउँमा कस्तो हुँदोरहेछ, कत्तिको साह्रो छ, भकुण्डो म पनि हानी हेर्छु भनेर त्यस्तो खेलाडीले काम चल्दैन ।’

रविन्द्र मिश्रको नाम नलिई ओलीले भने–‘रेडियोमा समाचार भने जस्तो होइन । समाचार त लेखेको हुन्छ, खररर पढ्ने त हो, राजनीतिमा त नदेखेका कुरा लेख्नुपर्छ, नदेखेका कुरा देख्नुपर्छ, नगरेका काम गर्नुपर्छ । देश बनाउने फराकिलो मन, छाती र संकल्प हुनुपर्छ ।’

पुर्वप्रधानमन्त्री ओलीले काठमाडौं १ का कांग्रेस उम्मेदवार प्रकाशमान सिंहलाई पनि राम्रैसँग खुईल्याउन भ्याए । उनले भन–‘प्रकाशमानजी थाक्नुभयो, राष्ट्रसंघमा जानुभयो । नाकाबन्दी लागेको छ, जनताको चुलो बलेको छैन, उहाँले नाकाबन्दी छैन भन्नुभयो ।’

त्यही मेसोमा ओलीले वामगठबन्धनका उम्मेद्वार अनिल शर्माको बचाउ गर्दै भने–‘कतिपयले वाम गठबन्धनका उम्मेदवार अनिल शर्मा अलि कलिलो रहेछ भनेको सुन्छु । कलिलो अनिल शर्मालाई नेतृत्व गर्ने छिप्पिएको म छु, विकासको जिम्मा म लिन्छु ।’ अनिल शर्माले गर्न सक्छ भनेर नै काठमाडौं १ मा एमालेले छाडेको ओलीले बताए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्