गोरखाकी अष्टमी गुरुङ्गको घटनाले लियो नयाँ मोड
सुपरभाइजरको बलात्कारमा परि आफू आत्महत्या गर्न बाध्य भएको भनि गोरखाकी अष्टमी गुरुङ्गको भिडियो सार्वजनिक भएपछि गत महिना अबुधाबिमा भएको गुरुङ्गको आत्महत्या भनिएको घटनाले नयाँ मोड लिएको छ ।
अबुधाबीमा रहेको गल्फ क्लिनिङ कम्पनीमा कार्यरत गोरखाकी अष्टमि गुरुङले गत नोभेम्बर ४ तारिख कम्पनीकै कोठामा झुन्डिएर आत्महत्या गरेकी थिईन् । शव झुन्डिएको अवस्थामा भेटिएकोले स्थानीय प्रसासन र अस्पतालले आत्महत्या नै मानेर १४ दिन पछि स्वदेश पठाएको थियो ।
तर शवको दाहसंस्कार पछि सार्वजनिक भएको एउटा भिडियोले उक्त घटनालाई नयाँ रुप दिएको छ । मृतक अष्टमी गुरूङले आत्महत्या गर्नुपूर्व आफ्नै मातृभाषामा रेकर्ड गरेको दुई वटा भिडियो भेटिएको थियो । भिडियोमा गुरूङले रुँदै आफ्ना परिवारका सदस्यहरु सम्झेर आफूलाई सुपरभाइजरले बलात्कार गरेर सर्वश्व लुटेकाले आत्महत्या गर्न बाध्य भएको उल्लेख गरेकि थिईन् ।
नोभेम्बर २५ मा सो भिडियो न्युज २४ टेलिभिजनमार्फत प्रसारण गरिएपछि पीडितप्रती सहानुभूति जनाउँदै घटनाको छानबिनका लागि सबैतिरबाट दबाव आएको थियो । यसबारे युएईका नेपाली संघसंस्था, एनआरएन लगायतले समेत चासो लिँदै नेपाली दूतावास युएईको ध्यानाकर्षण गराएका थिए ।
यो घटना सार्वजनिक भए लगत्तै नेपालमै रहेका एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठले संचारकर्मी रवि लामिछानेसँगको सहकार्यमा तत्कालै घटनाबारे चासो लिएर छानबिनका लागि नेपालस्थित युएई दूतावास पुगेर कानुनी प्रक्रिया अगाडि बढाउन आग्रह गरेका थिए ।
दूतावासले उक्त भिडियो मगाएर अरबिक र अंग्रेजी भाषामा अनुवाद गरि कारबाहीको प्रक्रिया अगाडि बढाएको एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठले बताएका छन ।
यता नेपाली दूतावास युएईले तत्कालै अबुधाबीस्थित प्रहरी हेडक्वाटर पुगेर सार्वजनिक भएको भिडियोबारे जानकारी गराएको थियो । प्रशासनले सोही बेला घटनाको अनुसन्धान थाल्ने जनाएको थियो । दूतावासले सोही दिन परराष्ट्र मन्त्रालयलाई घटनाबारे जानकारी गराएको थियो । दूतावासले मृतक अष्टमिले काम गर्ने कम्पनीमा समेत आफ्ना प्रतिनिधि पठाएर आरोपित व्यक्तिलाई तत्काल युएई छाड्न अनुमति नदिन सचेत गराएको थियो ।
उता घटनाबारे थप अध्यन गरि पिडकलाई कारबाही गर्न संचारकर्मी रवि लामिछाने सहितको टोलि र एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठले नियमित रूपमा नेपालस्थित युएई दूतावासलाई ध्यानाकर्षण गराईरहेका थिए । दूतावासले पनि यस घटनालाई गम्भीर रूपमा लिँदै सहयोगको प्रतिबद्धता व्यक्त गरेको थियो ।
नेपाली दूतावास युएईको आग्रहमा युएई प्रहरीले अहिले यो घटनाको अध्ययन थालिसकेको छ । पिडक भनिएका सुपरभाइजर साईमन काजी अनुसन्धानको केन्द्रमा रहेको बुझिएको छ । सामाजिक सञ्जालमा युएईमा रहेका केही नेपालीले आरोपी युएई छाड्ने तयारीमा रहेको बताएपनि उनी तत्काल उम्कने सम्भावना नरहेको बताईएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्