वलीबाट राष्ट्रियताको पाठ सिक्नुपर्छ; भण्डारी
कांग्रेस केन्द्रीय सदस्य एवं सांसद चन्द्र भण्डारीले प्रधानमन्त्री के.पी शर्मा ओलीबाट सबैले राष्ट्रियताको पाठ सिक्नुपर्ने बताउनु भएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रियता र स्वभिमानमा देखाएको साहस साँच्चीकै अनुकरणीय भएको भन्दै भण्डारीले अब बन्ने सरकारले ओलीबाट पाठ सिक्नुपर्ने बताउनु भएको हो ।
गुल्मी सम्पर्क समाज रुपन्देहीको पाँचौ अधिवेशनलाई सम्बोधन गर्दै सांसद भण्डारीले विपी कोइराला र मदन भण्डारीपछि अब प्रधानमन्त्री ओलीबाट सबैले पाठ सिक्नुपर्ने बताउनु भयो । गुटका कारण एमाले भित्रैबाट आलोचना हुँदा पनि ओलीले राष्ट्रियता र स्वभिमानका पक्षमा आफूलाई सफल प्रधानमन्त्रीको रुपमा उभ्याएको भण्डारीले दाबी गर्नुभयो ।
नयां सरकार गठनका लागि मिलेर जानुपर्ने भन्दै सहमति बाहेक अन्य कुनै विकल्प नभएको भण्डारीको तर्क छ । राजनीति अस्थिरताका कारण देशमा आर्थिक विकास हुन नसकेको भन्दै नेता भण्डारीले राजनीतिक नेता मात्र नभई ९० प्रतिशत व्यक्तिहरु भ्रष्ट हुँदा देशमा आर्थिक परिवर्तन हुन नसकेको बताउनु भयो ।
नेताहरु प्रजातन्त्रबादी भएपनि राष्ट्रबादी बन्न नसकेको भण्डारीले बताउनु भयो । नेता भण्डारीले पढेलेखेका युवाहरु विदेश पलायन हुने र नपढेकोहरु राजनीतिमा आउँदा राजनीतिक स्थिरता नरहेको समेत बताउनु भयो । विद्यार्थीहरुलाई पाठ्यक्रममा नै राजनीतिक चेतनाको विकास गर्दै लैजानुपर्ने नेता भण्डारीले तर्क गर्नुभएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्