सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बुथ कब्जा भएपछी स्याङ्जामा मतगणना अन्यौल

उम्मेद्वारमाथी भएको हातपात र बुथ कब्जा भएका स्थानहरुमा पुन; मतदान गर्न माग गर्दै बामगठबन्धनले मतगणना बहिस्कार गरी आन्दोलन गरेपछी स्याङ्गजामा अँझै पनि मतगणना सुरु हुन सकेको छैन ।

बिहीबार सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको दिन क्षेत्र नम्बर दुईमा वाम गठबन्धनबाट उम्मेदवार बनेकी पदमा अर्यालमाथि भएको हातपात र हिंसा विरुद्ध प्रहरी प्रशासन मौन रहेको भन्दै वाम गठबन्धनले हातपात गर्ने आरोपीहरुलाई पक्राउ गर्न माग गरेको छ ।

क्षेत्र नम्बर दुईमा कांग्रेसद्वारा कब्जा भएका ५ वटा बुथहरुमा पुन; मतदानको माग राख्दै हिंसा, हातपात गर्नेलाई प्रहरीले तत्काल पक्राउ गर्नुपर्ने र कारबाही गर्नुपर्ने माग राख्दै जिल्ला सदरमुकाम स्थित जिल्ला प्रशासन, मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला समन्वय समितिको भवन अगाडि वाम गठबन्धनले आन्दोलन गरेको छ ।

जिल्लाले पत्याएर पठाएको नेतृत्व मात्र नभई महिला पनि भएकाले उनीमाथि भएको हिंसा असह्य हुने भन्दै वाम गठबन्धनले आन्दोलन गरेको हो । प्रमुख जिल्ला अधिकारी महेश आचार्यको कक्षमा वाम गठबन्धनका जिल्ला स्तरीय नेता, सुरक्षा निकायका प्रमुखहरुको छलफल चलिरहँदा महिला हिंसा प्रति प्रहरी प्रशासन मौन रहेको भन्दै यसलाई छिटो भन्दा छिटो अनुसन्धान गरी पक्राउ गर्न आग्रह गरेका थिए ।

उम्मेद्वार पदमा अर्यालले सिंगो प्रशासन नै राज्यको नभई कांग्रेसको कमाण्डमा रहेको हुदाँ आफूले अपेक्षा गरे अनुसार प्रहरी प्रशासनबाट न्यायको अनुभुति नपाएको भन्दै प्रशासन र मुख्य निर्वाचन अधिकृतको कार्यालयले राखेको कुनै पनि बैठकमा समावेश नहुने, मतगणना गर्न नपाइने र कव्जा भएका बुथहरुमा पुन; मतदान हुनुपर्ने माग राखेकी थिइन् ।

माओवादी केन्द्रका जिल्ला इन्जार्च एवं वाम गठबन्धनका निर्वाचन प्रचारप्रसार संयोजक समेत रहेका शैलेन्द्र घिमिरेले महिला माथि भएको हिंसाको कुरा नटुङगिएसम्म आफ्नो आन्दोलन जारी रहने बताएका थिए । चापाकोट नगरपालिका–४ स्थित राममन्दिर माविमा भएको अर्यालमाथिको हिंसा ज्यादती भएको भन्दै जोकोही भएपनि कारबाहीमा ल्याउनैपर्ने उनीहरुको माग थियो ।

तीन वटा घेरामा राखिएको सुरक्षा व्यवस्था भएतापनि आफूमाथि हातपात हँुदा जनपथ प्रहरीले हेरिरहेको र शसस्त्र र नेपाल आर्मी पनि मौन रहेको उम्मेदवार अर्यालले बताएकी छिन । अर्यालले प्रमुख जिल्ला अधिकारी महेश आचार्य, जिल्ला प्रहरी प्रमुख एसपी प्रदीप श्रेष्ठ, मुख्य निर्वाचन अधिकृत रमेशकान्त अधिकारी नेपाली कांग्रेसका पिए भएको आरोप लगाएकी छिन ।

सँधै सत्ता कांग्रेसको मात्र नरहने र कम्युनिष्टको हातमा सत्ता परेपछि पहिलो निगरानीमा उनै व्यक्तिहरु पर्ने समेत बामगठबन्धनका नेताहरुले चेतावनी दिएका थिए । उनीहरुले सबैको साझा व्यक्ति बन्न पनि छलफलमा आग्रह गरेका थिए ।

छलफलको क्रममा प्रमुख जिल्ला अधिकारी आचार्यले सम्बोधन गर्न खोज्दा कसैले पनि बहालवाला उपप्रधान एवं शिक्षा मन्त्रीको आदेशमा उनकै शव्द बोल्ने हो भन्दै आचार्यको सम्बोधन अस्वीकार गरेका थिए । प्रजिअ आचार्यले कांग्रेसद्वारा पनि एमालेले बुथ कब्जा गरेको छ भन्दै निवेदन दिएको बताएका थिए ।

वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन दुवैले प्रजिअ सामु बुथ कव्जा गरिएको छ भन्दै निवेदन दिएका छन् । आन्दोलनमा एमालेका नेता कृष्ण खाँड खाइते भएका छन् । उनलाई टाउको र हात खुट्टामा चोट लागेको छ । आन्दोलनलाई रोक्न नसकेपछि प्रहरीले लाठी चार्ज गरेको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्