नौ बर्षपछी नौ महीनाका लागी दाहाल प्रधानमन्त्री
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नौ बर्षपछी दोस्रो पटक नौ महीनाका लागी प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ । व्यवस्थापिका संसद्ले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई वहुमतका साथ प्रधानमन्त्रीमा निर्वाचित गरेको हो ।
प्रधानमन्त्रीका एकल उम्मेदवार रहेका दाहालको पक्षमा ३६३ र विपक्षमा २१० मत परेको थियो । संसदमा उपस्थित ५७३ सांसद मध्ये बहुमत संख्या दाहालका पक्षमा भएपछी सभामुख ओनसरी घर्तिले दाहाललाई प्रधानमन्त्रीमा निर्वाचित भएको घोषणा गर्नुभएको थियो ।
दश वर्ष सशस्त्र युद्ध गरेको पार्टीका अध्यक्ष दाहाल सबैभन्दा ठूलो दल नेपाली काँग्रेस र मधेशवादी दलहरुको सहयोगमा दोस्रोपटक प्रधानमन्त्री बन्नुभएको हो । दोहोरीएर प्रधानमन्त्री हुने पुष्पकमल दाहाल पहीलो कम्युनिष्ट हुनुहुन्छ । दाहाललाई बुधबारको व्यवस्थापिका संसदले मुलुकको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित गरेको हो ।
सभामुख घर्तीले दाहाललाई प्रधानमन्त्री भएको घोषणा गर्नासाथ सबैभन्दा पहिले नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बधाइ दिनुभएको थियो । पक्ष र विपक्षमा भोट हालेका सबैजसो सांसदहरुले दाहाललाई वधाइ दिएका छन् ।
दाहालविरुद्ध अन्य कुनै पनि दलले उम्मेदवारी दिएका थिएनन् । संसद् नियमावलीअनुसार प्रधानमन्त्री पदका लागि एक मात्रै उम्मेदवारी परे पनि अन्य पदमा जस्तो निर्विरोध घोषणा नहुने व्यवस्थाका कारण व्यवस्थापिका संसदमा बुधबार मतदान भएको हो ।
निर्वाचनमा दाहाललाई संसदको सबैभन्दा ठूलो दल कांग्रेस, ४२ मत रहेको मधेसी मोर्चा समेतको संघीय गठबन्धन, फोरम लोकतान्त्रिक, राप्रपा लगायत साना दलको समर्थन थियो । दाहालको पार्टी माओवादी केन्द्र भने संसदमा तेस्रो ठूलो दल रहेको छ । संसदको दोस्रो ठूलो दल एमाले र केही साना दलले विपक्षमा मतदान गरेका थिए ।
पहिलो संविधानसभा निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको तत्कालीन माओवादी र तेस्रो दल एमालेको गठबन्धनका तर्फबाट २०६५ भदौमा दाहाल पहिलोपटक प्रधानमन्त्री निर्वाचित हुनुभएको थियो । त्यसको नौ महिनापछि नेपाली सेनाका तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवालको विवादास्पद बर्खास्ती प्रकरणमा उहाँले २०६६ वैशाख २१ मा पदबाट राजीनामा दिनुभएको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्