आन्दोलनमा घाईतेको बिल ७३ हजार, भुक्तानि २५ लाख
तराईमा भएको आन्दोलनका क्रममा घाईते भएकाहरुको उपचार खर्च बेहोर्ने बिषयमा भएको सहमति अनुसार सरकारले उपचार खर्च भुक्तानि गरेको छ । तर घाईतेहरुको उपचार खर्च बेहोर्ने भन्ने सहमति भएपनि लागेको खर्च भन्दा धेरै रकम निकासा भएको पाईएको छ ।
सामान्यतया उपचारका क्रममा लागेको खर्चको विलका आधारमा रकम निकासा हुनुपर्नेमा अस्पतालले उपलब्ध गराएको विल भन्दा कैयौँ गुणा बढि रकम निकासा भएको छ । घाईते भएकाको उपचारका क्रममा खर्च भएको अस्पतालको विल जम्मा ७३ हजारको मात्र भएपनि सरकारले भने २४ लाख भन्दा बढि रकम भुक्तानि गरेको छ ।
गृह मन्त्रालयले १९ घाइतेमध्ये १३ लाई २४ लाख ४८ हजार ३५४ रुपैयाँ उपचार खर्चका रुपमा भुक्तानी दिइसकेको छ । गत फागुन ३० मा गृह मन्त्रालयले उपचार खर्च दिने सहमति गरेपछि मन्त्रिपरिषदले निर्णय गरेको थियो । रकम निकासाका लागि चैत ८ मा अर्थ मन्त्रालयमा फाइल पुगेको थियो ।
मोर्चाले उपचारको क्रममा रहेका घाइतेहरूको नाम उपलब्ध गराए अनुसार नै सरकारले भुक्तानी दिएको थियो । १९ मध्ये मोर्चाका ६ नेता–कार्यकर्ताले ६ लाख ६९ हजार २ सय ५ रुपैयाँ रकम मात्र बुझ्न बाँकी थियो ।
मधेस आन्दोलनमा ज्यान गुमाएका ५७ जनाको परिवारलाई १० लाख क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि अघिल्लो मन्त्रीपरीषदले गरेको थियो । क्षतिपूर्तिको रकम जिल्लामा निकासासमेत भइसकेको थियो ।
त्यो भन्दा पहिले ओली नेतृत्वको सरकारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनमा घाइते भएका १९ जनाको ३१ लाख उपचार खर्च व्यहोरिसकेको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्