सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मुश्लिम दाजुभाईले बनाईदिए महादेवको मन्दिर

धर्म–धर्मबीच केही वैरभाव छैन, वैरभाव त मानिसले नै पैदा गरेको हो भन्ने सन्देशसहित पर्साका दुई मुस्लिम दाजुभाईले हिन्दुहरुका आस्थाका भगवान रामेश्वर महादेवको मन्दिर निर्माण गरिदिएका छन् ।

विरगन्ज उपमहानगरपालिका–१०, पानी ट्यांकीका डा. जैनुद्दीन अन्सारी र बसुरुद्दीन अन्सारीले कुल ४८ लाखको लागतमा वीरगन्जको प्रसौनी विर्ता गाविस हालको वीरगन्ज उपमहानगरपालिका–२६ मा साढे ७ कट्ठा जमिनको क्षेत्रफलमा सो मन्दिर निर्माण गरिदिएका हुन् ।

मुस्लिम दाजुभाईको लगानीमा बनेको हिन्दु धर्मावलम्बीहरुको सो मन्दिरको पूर्ण रुपमा सञ्चालनका लागि आइतबार भव्य रुपले कलश यात्रा निकालिएको थियो ।

मन्दिर प्रांगणबाट निकालिएको कलश यात्रा त्रिवेणी खोलामा पुगी आठ सयको संख्यामा जल भरिएका कलश रामेश्वर महादेवको नवनिर्मित मन्दिरमा ल्याइएको थियो । सोमबार सो मन्दिरमा रहेको महादेवको मूर्तिमा प्राणप्रतिष्ठा गरिने भएको स्थानीय प्रसौनी विर्तावासीले बताए ।

५ लाख मूल्य बराबरको संगमरमरबाट निर्मित महादेवको मूर्ति अन्सारी दाजुभाइले नै बनाइदिएका हुन् । मानिस जन्मदैमा कुनै धर्मको पक्षपाती वा विरोधी हुँदैन भन्ने आफुहरुको धारणा रहेको अन्सारी दाजुभाईले बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्