सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

वीरगञ्ज आईपुग्यो फोहोरबाट ग्यास निकाल्ने यन्त्र

यसअघि ओली सरकारले उर्जा संकट समाधानका लागी विकल्पका रुपमा घोषणा गरेको बायोग्यास निकाल्ने यन्त्र एक साताभित्र काठमाडौँ आइपुग्ने भएको छ । बायोग्यास निकालेर जैविक फोहोरको उचित व्यवस्थापन गर्ने योजना अनुरुप यन्त्र वीरगन्ज आइपुगेको छ ।

यन्त्र काठमाडौँ आउन एक साता लाग्ने काठमाडौँ महानगरपालिकाले जनाएको छ । महानगरपालिकाको वातावरण व्यवस्था विभागका अनुसार यन्त्र आएसँगै फोहोरबाट ग्यास उत्पादनको काम सुरु हुनेछ ।

महानगरपालिकाका वडा नं २१, १२, १९ र २० मा सङ्कलन गरिएको फोहोरलाई कुहिने र नकुहिनेमा छुट्याईनेछ । यसरी छुट्याइएको फोहरबाट दैनिक ३०० टन फोहोर प्रयोग गरी १४ किलोवाट बायोग्यास निकाल्ने महानगरले तयारी गरेको छ ।

Bio Gas Plant

बायोग्यास प्लान्ट फाईल तस्विर

बायोग्यास प्लान्ट राख्न युरोपेली संघको ८० र काठमाण्डौ महानगरपालिकाको २० प्रतिशत लगानी गर्ने सम्झौता भएको छ । महानगरले सुरु गर्न लागेको यो पहिलो नमुना परियोजना हो । टेकुमा राख्न लागिएको यो योजना सफल भएमा अन्य स्थानमा पनि विस्तार गरिने महानगरपालिकाले जनाएको छ ।

बायोग्यास मार्फत फोहोरको उचित व्यवस्थापन गर्दै शहरलाई फोहोरबाट मुक्त गर्न लागिएको महानगरपालिकाले जनाएको छ । दिगो रूपमा फोहोरमैला व्यवस्थापनका लागि विभिन्न किसिमको अध्ययन पनि भइरहेको महानगरपालिकाले जनाएको छ । काठमाण्डौमा कुहिने र नकुहिने गरी दैनिक ४५० टन फोहोर उत्पादन हुने गरेकोमा ६३ प्रतिशत जैविक हुने गरेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्