सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

विमानमा लेजर आक्रमण गर्ने तरकारी व्यापारी

गत शुक्रबार बैंककबाट काठमाण्डौ फर्किँदै गरेको नेपाल वायुसेवा निगमको एयरबसको ककपिटमा लेजर लाइट आक्रमण गर्नेलाई नेपाली सेनाले पत्ता लगाएको छ । निगमको ककपिटमा पाइलटलाई असर पर्ने गरी लेजर हान्ने जडीबुटीमा तरकारी पसल गर्दै आएका वीरेन्द्र थापामगर भएको पत्ता लागेको हो ।

लेजर लाईट हान्ने थापालाई त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको बाहिरी सुरक्षामा खटिएको नेपाली सेनाले पत्ता लगाएको हो । माफी मागेकाले थापालाई पहिलो पटकलाई सजग गराएर छाडिएको सैनिक स्रोतले बताएको छ ।

कोटेश्वरस्थित अरनिको राजमार्ग पछाडि जोडिएको विमानस्थलको भीओआर डीएमई उपकरणको सुरक्षामा खटिएको सेनाले घटना भएको भोलिपल्ट ती युवकको पहिचान गरेको हो । ती युवकले सेनाको टोलीसँग आफुले जिस्किएर लेजर लाइट चलाएको बताएका छन् ।

Laser attacked in plae file photo

शुक्रबारको घटनापछी नागरिक उड्डयन प्राधिकरणले विमानस्थल आसपासका सर्वसाधारणलाई लक्षित गर्दै लेजर लाईट विमानमा लगाउँदा हुने हानिका बारेमा जानकारी गराउन माइकिङ तथा चेतनामूलक कार्यक्रम थाल्ने बताएको छ । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार नेपाली आकासमा लेजर लाइट आक्रमणको घटना पहिलोपटक हो ।

बैंककबाट फर्किंदै गरेको निगमको विमान ठैंच नाघेर हात्तीवन माथिको आकाशमा आउँदै गर्दा विपरीत दिशा जडीबुटीतर्फबाट लेजर लाइटले करिब ४० सेकेन्डसम्म ककपिटमा आक्रमण गरेको थियो ।

विमान अवतरण गर्न खोजिरहेका क्याप्टेनका आँखामा असर गरेपछी उनीहरूले तत्कालै विमानस्थलको एटीसी प्रमुखलाई लिखित उजुरी दिएका थिए । उजुरीपछि त्यही साँझ सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्