सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

क्रिकेट खेल्न आएका खेलाडी जापानमै गायव

बेस्ट फुटबल क्रिकेट (एफसी) काठमाडौं क्लबलले मैत्रीपुर्ण क्रिकेट प्रतियोगिताका नाममा मानव तस्करी गरेको खुलासा भएको छ । मैत्रीपुर्ण खेलका लागी भनेर जापान आएका खेलाडी नेपाल नफर्किएको बारे आइसिसिले चासो देखाएपछी यस्तो रहस्य खुलेको हो ।

गत जुलाईमा एक मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा सहभागी हुन भन्दै नेपालबाट १८ जनाको टोली जापान आएको थियो । प्रतियोगितामा सहभागी हुन आएका मध्ये ९ जना नेपाल नफर्किएपछी उनीहरुलाई जापानमै छाडीएको आशंका गरिएको छ ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले केही गैर खेलाडीलाई समेत सहभागी गराएको र उनीहरूलाई जापानमै छोडेर गएको भन्दै नेपाली क्रिकेटका सरोकारवालालाई छानबिन गर्र्न निर्देशन दिएको छ । सो बिषयमा युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले समेत विशेष चासो देखाउँदै छानबिन प्रक्रिया अघि बढाउनु भएको छ ।

गत जुलाई १५ मा बेस्ट फुटबल क्रिकेट (एफसी) काठमाडौं क्लबले मैत्रीपुर्ण प्रतियोगिताका लागी भनेर ७ जना राष्ट्रिय खेलाडी सहित १८ सदस्यीय टोली जापान लिएर आएको थियो । जापानमा उनीहरूले स्थानीय क्लबसँग दुई दिनमा तीनवटा म्याच खेलेका थिए ।

Cricket

मैत्रीपूर्ण म्याचका लागि सिनियर नेपाली राष्ट्रिय टोलीका पूर्वसदस्य सिद्धान्त लोहनी सहित अन्डर १९ टोलीका प्रेम तामाङ, अमित श्रेष्ठ सौरभ खनाल, फैजल खान, रामनरेश गिरी र राष्ट्रिय खेलाडी सोनु तामाङ जापान आएका थिए ।

मैत्रीपूर्ण खेलका लागि जापान आएका ७ खेलाडी र दुई जना पदाधिकारी पाँच दिन पछि नेपाल फर्किएका थिए । टोलीसँगै आएका अरु ९ जना भने संगै नफर्किएको एक खेलाडीले बताएका छन् । जापान रहेका मध्ये २ जनाले पुरा खेल खेलेका थिए भने अर्का एक जनाले एक खेलमात्र खेलेका थिए ।

क्लबका प्रतिनिधि सुन्दर थापाले टोलीसँग नफर्किएका ९ जनाका बारेमा आफूलाई कुनै जानकारी नभएको बताएका छन् । थापाले ती ९ जनालाई आयोजकले नै जापान ल्याएको दाबी गरेका छन् । जापानमा खेलाडीले बेस्ट फुटबल क्रिकेट (एफसी) काठमाडौं क्लबकै जर्सी लगाएर खेलेका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्