करोडौँ बचाउन विदेशी खादामा प्रतिवन्ध
राज्यकोषबाट अनावश्यक वस्तुमा बाषिर्क करोडौँ रुपैँया बाहिरिने भन्दै संस्कृति मन्त्रालयले विदेशी खादा प्रयोग गर्न प्रतिवन्ध लगाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले आफ्नो मातहतका कुनै पनि कार्यालयमा विदेशी खादाको प्रयोग नगर्न निर्देशन दिएको हो ।
वातावरण प्रदुषित हुने र राज्यकोषको करोडौँ रकम बाहिरिने भन्दै सचिव प्रेमकुमार राईले विदेशी खादा प्रयोग नगर्न निर्देशन दिनुभएको हो । मन्त्रालय मातहतका विभाग, प्रतिष्ठान, प्राधिकरण, निगम लगायत ४० वटा निकायलाई परिपत्र गर्दै अबदेखि स्वागत तथा सम्मानमा विदेशी खादा प्रयोग नगर्न निर्देश गरिएको छ ।
नेपालमै उत्पादन भएका ढाका, नेपाली कटन र नेपाली कागजबाट बनेका खादा प्रयोगमा भने मन्त्रालयले प्रोत्साहन गरेको छ । मन्त्रालयले शुक्रबार नयाँ मन्त्रीको स्वागतका लागी पनि एउटा मात्र नेपाली ढाकाको खादा प्रयोग गरेको सहसचिव घनश्याम शर्माले जानकारी दिनुभएको छ ।
विदेशी खादामा प्रतिबन्ध लगाउँदा राज्य कोषको पैसा जोगिने, नेपाली उत्पादनलाई प्रोत्साहन हुने र थोरै भएपनि व्यापार घाटा कम होस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको सहसचिव शर्माले प्रस्ट पार्नु भएको छ । मन्त्रालयले विदेशी भाषामा लेखिएका खादामा समेत प्रतिवन्ध लगाएको छ ।
मन्त्रालयले नेपालमा उत्पादन भएको खादामा पर्यटन विकासलाई प्रवद्र्धन गर्ने भाषा र तस्विरको प्रयोग गर्न निर्देशन जारी गरेको छ । यसअघि सरकारको सचिव स्तरीय बैठकमा यस विषयमा छलफल भएपनि निर्णय भएको थिएन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्