द्रुतमार्ग भारतलाई दिने कल्पना नगरौँः प्रधानमन्त्री
काठमाडौं–निजगढ जोड्ने द्रुतमार्ग निर्माणको जिम्मा भारतलाई दिन खोजिएको भन्ने हल्लालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कल्पनासमेत गर्न नसकिने बताउनु भएको छ । प्रधानमन्त्री दाहालले द्रुतमार्ग निर्माणको जिम्मा भारतलाई दिन लागिएको भनेर गलत प्रचार गरिएको बताउनु भएको छ ।
‘केपी ओलीजी प्रधानमन्त्री हुँदा नेपालले नै फास्ट ट्रयाक बनाउने भन्ने निर्णय मेरो समर्थनमा नै गरिएको हो’ नेपाल टेलिभिजनको कार्यक्रम ‘सिधा कुरा प्रधानमन्त्रीसँग’को श्रृंखलामा प्रचण्डले भन्नुभयो, ‘हिँजोको निर्णयमा मैले कुनै परिवर्तन गरेको छैन । नेपालको राष्ट्रिय हित विपरित मेरो नेतृत्वको सरकारले कुनै काम गर्दैन ।’
सरकारले विशेष दूत विमलेन्द्र निधिमार्फत संविधान संशोधनको खाका सहितको पत्र पठाएको भन्ने कुरा सत्य नभएको बताउँदै प्रधानमन्त्री दाहालले औपचारिक कुटनीतिक विषयबाहेक पत्रमा कुनै कुरा उल्लेख नभएको श्पस्ट पार्नुभएको छ । प्रधानमन्त्री दाहालले नेपाल र भारतबीच भएका सम्झौताबारे अध्ययन र समिक्षाको प्रक्रिया अघि बढेको बताउनु भएको छ ।
प्रधानमन्त्री दाहालले भन्नुभयो–‘पहिलो पटक म प्रधानमन्त्री भएको बेला नै सन् १९५० लगायतका सन्धि सम्झौता पुनरावलोकन गर्ने कुरा उठाएको थिएँ । नेपाल र भारतबीच सन्धि सम्झौताबारे अध्ययन गर्न बनेको विज्ञहरुको टोलीले प्रक्रिया अगाडी बढाएको छ । टोलीको सुझाव बमोजिम दुई देशबीच नयाँ समझदारीको कोशिस हुनेछ ।’
हाल भईरहेका सवारी दुर्घटनाले आफुलाई निकै गम्भीर बनाएको भन्दै प्रधानमन्त्री दाहालले सडक सुरक्षाका लागि कठोर कदम चालिने बताउनु भएको छ । दाहालले भन्नुभयो–‘सडकको स्तरोन्नति, यान्त्रिक अनुगमन, अघोषित रुपमा कायम रहेको सिण्डिकेटको अन्त्य र नीति, नियममा कडाई गर्नेबारे गम्भीर छलफल भएको छ । छिटै कठोर कदम चालिनेछ ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्