संविधान संशोधन केका लागी ? : एमाले
सरकार गठनताका गरेको सहमति अनुसार मधेशवादी दलका माग पुरा गर्न संविधान संशोधनमा सघाउन प्रधानमन्त्रीले गरेको आग्रहलाई प्रतिपक्ष एमालेले अस्विकार गरिदिएको छ । प्रतिपक्ष एमालेले सरकारसँग संविधान संशोधनको औचित्य माग गरेको छ ।
प्रधानमन्त्री प्रचण्डको आहृवानमा प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादीको शीर्ष बैठकमा एमाले कार्यवाहक अध्यक्ष बामदेव गौतमले संविधान संशोधन केका लागि भन्ने प्रश्न गर्दै प्रष्ट विषय सूची लिएर आउन आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको बैठकमा गौतमले गौतमले भन्नुभयो–‘संविधान संशोधन किन र केका लागि गर्ने ? सरकारको प्रस्ताव के के हो ? पहिले सरकारको प्रस्ताव आओस, अनि एमालेले आफ्नो दृष्टिकोण दिनेछ ।’
बैठकको शुरुमा प्रधानमन्त्री प्रचण्डले थारु तथा मधेसका समस्या समाधानका लागि संविधान संशोधन, स्थानीय तहको पुर्नसंरचना र निर्वाचनका एजेण्डा राख्नुभएको थियो । तर, सरकारबाट कुनै ठोस प्रस्ताव नआएकाले पहिले संविधान संशोधन किन र के का लागि भन्ने प्रष्ट प्रस्ताव ल्याउन गौतमले आग्रह गर्नुभएको हो ।
बैठकमा सहभागी एमाले स्थायी कमिटी सदस्य किरण गुरुङले भन्नुभयो–‘संविधान संशोधन गरौं भन्नेहरुसँगै कुनै प्रस्ताव छैन । अहिलेको प्राथमिकता संविधान संशोधन होइन, यसको कार्यन्वयन हो भन्ने कुरा हामीले राख्यौं ।’
जवाफमा प्रधानमन्त्री दाहालले थारु र मधेसी समुदायको माग सम्बोधन गर्नका लागि संविधान संशोधन गर्नु पर्ने बताउनु भएको थियो । प्रधानमन्त्री दाहालले के–के मा संशोधन गर्ने भन्नेमा आफूहरु खुला रहेको बताउनु भएको थियो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले उपाध्याक्ष भीम रावलले संविधान संशोधनबारे प्रमुख प्रतिपक्षी दलसँग कुनै छलफल नगरेको तर अमुक देशमा छलफल गरेको भन्दै आफूहरुले आपत्ति जनाएको बताउनु भएको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्