सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

फुलचोकीमा हराएका जोनको घटना रहश्यमयी

ललितपुरको थसिखेलस्थित अजय शिक्षा सदनमा अध्ययनरत विद्यार्थी जोन तामाङलाई विद्यालयले हाइकिङ लाने क्रममा बेपत्ता भएपछि पीडित परिवार र स्थानीय अविभावकहरु महानगरीय प्रहरी वृत्त सातदोबाटो ललितपुर अगाडी प्रदर्शनमा उत्रिएका छन् ।

आफ्नो सन्तानको विछोड कसले पो थाम्न सक्छ र ? त्यसमाथि १७ बर्षको कलकलाउँदो उमेरको आफ्नो सन्तान बेपत्ता भएपछि भावविह्वल अवश्थामा आफ्नो छोराको खोजिका लागि चित्कार गरिरहेकी थिइन् जोनकी आमा ।

जोन अध्ययनरत विद्यालय ललितपुरको थसिखेलस्थित अजय शिक्षा सदनबाटै गत विहिबार फुलचोकी डाँडामा हाइकिङ् गएर फर्कने क्रममा बेपत्ता भएका जोनको चार दिनदेखि अत्तोपत्तो छैन ।

यसरी हराएका थिए जोन तामाङ
अजय शिक्षा सदनबाट गत विहिबार विद्यार्थीहरुलाई फुलचोकी डाँडामा हाइकिङ लैजाने योजना बन्यो । सोही अनुरुप बिहीबार विद्यालयले कक्षा ५ र ६ का ११ जना विद्यार्थीलाई हाइकिङ लग्यो । तर फुलचोकीबाट फर्कने क्रममा ११ जना विद्यार्थीमध्ये कक्षा ६ मा अध्ययनरत जोन तामाङ बेपत्ता भए ।

फुलचोकी शिखरमा पुगेर ओरालो झर्दा उनी हराएका हुन् । विद्यार्थीसँगै स्कुलका प्राचार्य दुर्गाबहादुर ओली पनि हाइकिङ गएका थिए । रमाइलो गर्दै फर्केका उनीहरूले गोदावरी झरेपछि मात्रै तामाङ छुटेको थाहा पाएका थिए ।

प्राचार्य ओलीले प्रहरी तथा अभिभावकलाई जनाएअनुसार फुलचोकीबाट गोदावरी झर्ने क्रममा पाँच जनाले थकाइ लाग्यो भन्दै छोटो बाटोबाट जान अनुरोध गरेका थिए । तर, ओलीले बाटो अप्ठ्यारो छ भन्दै जान मानेनन् ।

विद्यार्थीले कर गरेपछि बाटो देखेको भए तिमीहरू जाऊ, गोदावरीमा पुगेर पर्ख भन्दै उनले छोटो बाटोबाट झर्न अनुमति दिएका थिए । तर, गोदावरीमा दुवै समूहका विद्यार्थी भेट हुँदा तामाङ देखिएनन् ।

विद्यार्थीहरु गोदावरीबाट करिब सात किलोमिटर हिँडेर फुलचोकी पुगेका थिए । लामो समयसम्म उकालो हिँडेका कारण फर्कने क्रममा थकाइ लागेपछि उनीहरूले छोटो बाटो रोजेका थिए । त्यसपछि सँगैका साथी तथा प्राचार्यले समेत जोनलाई धेरैबेर खोजे । तर उनलाई कतै नभेटिएपछि दिउँसो ४ बजेतिर गोदावरी प्रहरीलाई खबर गरिएको थियो ।

प्रहरीलाई बिहीबार नै जानकारी गराइए पनि अँध्यारो भएका कारण सामान्य खोजबिन गरेर प्रहरी फर्केको थियो । त्यसलगतै प्रहरीले खोजीकार्य जारी राखेको बताए पनि बालक तामाङ भेटिएका छैनन् ।

विद्यार्थी हराएपछि विद्यालयका प्राचार्य ओलीलाई सातदोबाटो प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसैले आफन्त, अभिभावक र स्थानीयहरु सातदोबाटो प्रहरी बृत्त अगाडी नै निकै आक्रोस र पिडा सहित बालकको खोजी गरिदिन आग्रह गरिरहेका थिए ।

बालकका आफन्त र अविभावकहरुले विद्यालयले विद्यार्थीहरुलाई हाइकिङ लाने तरिका गलत भएको र यसमा विद्यालयको चरम लापरबाही देखिएको बताएका छन् । ६ कक्षामा पढ्ने भए पनि उनी १७ वर्षका छन् ।

उनको खोजीमा अभिभावक, स्थानीय बासिन्दा, प्रहरी, सशस्त्र र सेनासमेत खटिएका छन् । उनीहरूसँगै तालिम प्राप्त कुकुर पनि परिचालन गरिएको छ । तर जोन अँझैसम्म भेटिएका छैनन् । ४ दिनसम्म पनि उनको अत्तोपत्तो नलागेपछि परिवार पिडामा पिडासँगै संसंकित र आक्रोसित छन् ।

अभिभावकलाई जानकारी नै नदिई विद्यार्थीलाई विद्यालय बाहिर लैजाने निजी विद्यालयको नकारात्मक प्रबृत्ती यो घटनासँगै फेरि बहसमा आएको छ । फूलचोकी हाइकिङ गएका एक विद्यार्थी चार दिनदेखि बेपत्ता रहँदा अभिभावक र आफन्तले विद्यालयको लापरवाहीका कारण घटना भएको भन्दै कारबाहीका लागि प्रहरीमा दबाब बढाएका छन् ।

यता प्रहरीले भने उनको निरन्तर खोजी भइरहेको जनाएको छ । वेपत्ता भएको चार दिन वित्दा पनि नभेटिएपछि आक्रोशित अभिभावकले आइतबार महानगरीय प्रहरी वृत्त, सातदोबाटो परिसरमा नारावाजी गरेका छन । अभिभावक संघ नेपालले समेत यो घटनालाई लिएर आपत्ति जनाएको छ ।

फूलचोकीबाट फर्किने क्रममा जोन हराएको भनिएको छ । तर, अभिभावकले भने आफ्नै गल्तीका कारण घटना हुँदासमेत प्रिन्सिपलले तत्काल खबर नगरेको भन्दै घटनामा उनकै संलग्नता हुनसक्ने आशंका गरेका छन् । मदिराले मातेका कारण प्रिन्सिपलले समयमै खबर नगरेको र गरेको भए जोन भेटिने परिवारको दावी छ ।

प्रहरीले भने जोनको खोजी भइरहेको जनाएको छ । अनुसन्धानका लागि प्रिन्सिपल दुर्गाबहादुर ओलीलाई नियन्त्रणमा लिएको प्रहरीले सँगै गएका विद्यार्थी र ओलीको भनाई बाझिएका कारण जोन कहाँबाट हराएको भन्ने नै यकिन नहुँदा खोजी प्रभावित भएको जनाएको छ ।

घटना दिउँसो कै भएपनि प्रिन्सिपल ओलीले विहीबार राति ८ बजे मात्रै परिवारलाई जोन हराएको जानकारी दिएका थिए । घटनाले विद्यालय प्रसासनको चरम लापरबाहीलाई ओकलेको छ । गोदावरीदेखि फुलचोकी शिखरसम्म सात किलोमिटर दूरी भए पनि पाँच किलोमिटरसम्म सडक यातायातको सुविधा छ ।

सडक पुगेको ठाउँसम्म गाडीमा गएर बाँकी दुई किलोमिटर मात्र पैदल हिँडाउनुपर्ने भन्दै अभिभावकले विरोध गरेका छन् । जोन हराएपछि बाटो चिप्लो र अप्ठ्यारो भएको लगायत कारण देखाउँदै उनीहरू हाइकिङ गएको बाटो नहिँड्न प्रहरीले सूचना टाँसेको छ ।

घटनाको प्रकृति हेर्दा जोन बाटोबाट चिप्लिएको हुन सक्ने अनुमान गरिएको छ । पछिल्लो समय हाइकिङ तथा साथीभाइसँगै मिलेर घुम्न जाने प्रचलन बढे पनि सुरक्षा संवेदनशीलता अपनाउन नसक्दा पटकपटक दुर्घटना हुने गरेको छ ।

गत वर्ष पनि महाराजगन्जस्थित भ्याली पब्लिक स्कुलमा अध्ययनरत एक विद्यार्थीको साथीहरूसँगै पोखरा घुम्न जाने क्रममा नदीमा डुबेर मृत्यु भएको थियो । उनको मृत्युमा स्कुलले लापरबाही गरेको भन्दै अभिभावक र आफन्तले विरोध जनाएपछि विद्यालयले क्षतिपूर्ति स्वरूप मोटो रकम तिरेको थियो ।

यो घटनामा झनै विद्यालय र स्वयं प्राचार्य दुर्गाबहादुर ओलीको गैरजिम्मेवारपन प्रष्टै देखिन्छ । एउटा विद्यालय जसले विद्यार्थीलाई घुमाउन लैजाँदा ठाउँ कस्तो हो कसरी जाने भन्नेबारे सोचेन । र स्वयम् अभिभावक संग समेत जानकारी लिएन । जुन लापरबाहीको चरम नमूना हो ।

पछिल्लो समय राजधानीको विद्यालयहरुको लापरबाहीका कारण विद्यार्थीहरु असुरक्षित बनिरहेका छन् । कोही अपरणमा पर्ने त कोही हराउने, मृत्युहुने जस्ता घटनाहरु बढिरहेका छन् । जुन विषय निकै डरलाग्दो बन्दै गइरहेको छ । यसमा सम्बन्धित पक्ष सचेत हुन जरुरी छ । र यो घटनाको सत्य तथ्य विवरण बाहिर आउनु जरुरी छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्