सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

चेलिबेटी बेच्ने वडाध्यक्षलाई ३७ बर्ष जेल सजाय

दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीका वडाध्यक्ष सुनबहादुर तामाङलाई मानव बेचबिखन मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालतले ३७ वर्ष ६ महिना कैद सजाय र रु दुई लाख ५० हजार जरिवानाको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश लोकजङ्ग शाहको एकल इजलाशले वडाध्यक्ष तामाङसहित तीन जनालाई कैदका साथै जरिवानाको फैसला गरेको हो । तामाङसहित उनका सहयोगीहरु सोही स्थानका शुकमान लामालाई ३२ वर्ष तीन महिना २३ दिन कैद र टीकाराम तामाङलाई ३० वर्ष कैदसहित जनही रु दुई लाख ५० हजार जरिवानाको फैसला भएको अदालतका स्रेस्तेदार महिमानसिंह विष्टले जानकारी दिएका छन ।

भारतमा बेचिएका युवतीले घर फर्किएपछि सामाजिक संस्थाको सहयोगमा तीनै जना विरुद्ध २०७२ कात्तिक १८ गते मानव बेचबिखन तथा ओसारपसार विरुद्ध अदालतमा मुद्दा दर्ता गरेका थिए ।

नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गत पुस ७ गते पक्राउ गरी काठमाडौँ जिल्ला अदालतमा समेत मानव बेचबिखनको मुद्दा दायर गरेको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्