प्रभावशाली एशियाली सुचीमा दुई नेपाली महिला
फोर्ब्स म्यागेजिनले प्रकाशित गरेको एशियाका ‘३० मुनिका ३०’ अर्थात ३० वर्षभन्दा कम उमेरका ३० जना प्रभावशाली एशियालीको सुचीमा नेपालका दुई जना महिला छानिएका छन् ।
फोर्ब्सले हरेक वर्ष कला, प्रविधि, उपभोक्ता, व्यवसाय, विज्ञान, इकमर्श, सामाजिक उद्यमशिलता लगायतका विभिन्न १० विधामा उत्कृष्ट कार्य गरेका ३० वर्ष भन्दा कम उमेरका ३० जना सफल तथा प्रभावशाली व्यक्तिहरुलाई सुचीमा समावेश गर्दै आएको छ ।
सामाजिक उद्यमीतर्फ नेपालबाट आयुषी केसी र कञ्चन अमात्यलाई फोर्ब्सले छानेको हो । यस सुचीमा समावेश हुनेहरुलाई फोर्ब्सले आउँदो जुलाईमा हङकङमा आयोजना गर्ने अन्तराष्ट्रिय सम्मेलनमा सहभागिताको अवसर प्रदान गर्नेछ ।
विश्वभरीका लगानीकर्ता तथा सोही क्षेत्रमा क्रियाशिल संस्था तथा व्यक्तिहरुको सहभागिता रहने उक्त सम्मेलनमा सुचीकृत हुनेले नेटवर्किङ तथा लगानी जुटाउने अवसरका साथै एक अर्काका अनुभव साटासाट गर्न पाउनेछन् ।
केसी फोहोर व्यवस्थापन गर्दै आएको ‘खालीसीसी डटकम’की संस्थापक हुन् भने अमात्य ‘दिगो मत्स्य खेती अभियान’ (एसएफएफआई) नामक संस्थाकी अभियन्ता तथा उद्यमी हुन् ।
खालीसीसी डटकमले खालीसीसी संकलनमार्फत पुनप्रयोग गर्न मिल्ने फोहोरको व्यवस्थापनमा उल्लेख्य योगदान दिएबापत केसीलाई सो सम्मान दिएको फोर्ब्सले जनाएको छ ।
केसीको यस संस्थाले काठमाडौंका घर, संस्था, होटल, रेष्टुरेन्ट लगायतबाट दैनिक निस्किने नकुहिने फोहोरलाई पुनःप्रयोगमा ल्याउन उल्लेख्य योग्दान दिएको तथा ‘रिसाइक्लिङ’ को महत्व र फोहोर संकलक प्रतिको मानिसको बुझाई परिवर्तन गर्न क्रियाशिल रहेको भन्दै सुचीमा सुचिकृत गरिएको जनाएको छ ।
केसीले फोर्ब्सको ‘३० मुनीका ३०’ को सुचीमा समावेश भएकोमा प्रतिक्रिया दिँदै खुसी व्यक्त गरिन् । उनले फोर्ब्सको यस सम्मानले आफुजस्ता उद्यमीलाई अघि बढ्न थप हौसला प्रदान गरेको समेत बताइन् । केसीले जुलाईमा हुने सम्मेलनमा विश्वका धेरै लगानीकर्ताहरुले भाग लिने भएकाले त्यसमा आफ्नो सँगै नेपालका अन्य व्यवसायका प्रवद्र्धन हुने गरी प्रस्तुत हुने बताइन् ।
त्यस्तै एसएफएफआईले दिगो जलीयकृषि मार्फत दुर्गम भेगका महिलालाई प्रविधि तथा स्थानिय स्रोत साधनमाथी पहुँच बढाएको, वित्तिय शिक्षामार्फत आफ्नै सहकारी संस्था निमार्ण गराएको र तीनको जीवनस्तर सुधार गर्न महत्वपूर्ण योगदान पुर्याएबापत अमात्यलाई सो सुचीमा समावेश गरिएको फोर्ब्सले जनाएको छ ।
फोर्ब्सले यो सुचीमा एशिया प्रशान्त क्षेत्रभित्रका २४ वटा देशका ३०० जना प्रभावशाली तथा सफल युवाहरुलाई समावेश गरेको छ । सन् २०१६ बाट सुरु गरिएको यस सुचीमा यस वर्ष उत्तर कोरिया तथा अजरबैजानलाई समेत समावेश गरिएको थियो ।
फोर्ब्सले यी देशहरुबाट सोधकर्ता तथा पत्रकारहरुले सिफारिस गरेका हजारबढी प्रतिस्पर्धीमध्ये सम्बन्धीत विद्याका विज्ञहरुको जुरीले छानेकालाई सुचीमा राखिएको बताएको छ । यसका लागि ६ महिनादेखि अनुसन्धान गरिएको समेत फोर्ब्सले उल्लेख गरेको छ ।
गत वर्ष यसै सुचीमा पाँच नेपाली छनौट भएका थिए । गत वर्ष छानिनेमा युटुबर प्रभात यादव, कोड फर नेपालका संस्थापक रवि कुमार, अनलाइन सपिङ साइट थ्रेड्सपेन्टका आशिष आचार्य र दियालो फाउण्डेसनका सविन भण्डारी रहेका थिए ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्