सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

उपत्यकामा ट्राफिक लाईट बल्न थाले, हट्दै इशारा

आजबाट काठमाडौंका ७ स्थानमा स्मार्ट ट्राफिक लाइट बल्न थालेको छ । नयाँबानेश्वर चोक, पुतलीसडकको पद्मोदय मोड, कुमारी बैंक अगाडि, महाराजगंजको नारायण गोपाल चोक, सोल्टी मोड र काठमाडौं महानगरपालिकाको अगाडि स्मार्ट ट्राफिक लाइट बल्न थालेको हो ।

आज दिउँसो ३ बजे बानेश्वर चोकबाट ट्राफिक लाइट बालेर त्यसको शुभारभ्भ गरिएको छ । सबै चोकहरुमा परीक्षण सकिसकेको महानगरी ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी सर्वेन्द्र खनालले जानकारी दिएका छन ।

लामो समयदेखि ट्राफिक लाइट नचल्दा हातको इसाराले सवारी व्यवस्थापन हुँदै आएको राजधानीका मुख्य चोकहरुमा अब ‘स्मार्ट ट्राफिक लाइट’ ले काम गर्ने छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा, सडक विभाग र काठमाडौं महानगरपालिकाको संयुक्त पहलमा ट्राफिक लाइट जडान गरिएको हो ।

स्मार्ट ट्राफिक लाइट जडान जिम्मा यार्सा टेक्नोलोजीले लिएको थियो । पहिला ट्राफिक लाइट जडान गरिएका ७ स्थानमा स्मार्ट ट्राफिक लाइट जडान गरिने र पछि अन्य स्थानमा पनि विस्तार हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिआइजी खनालले बताएका छन ।

अब केशरमहल, दरबारमार्ग, सिंहदरबार, माइतीघर, कालिमाटी, गौशाला, तीनकुने लगायत स्थानमा ट्राफिक लाइट जडान गरिने खनालले जानकारी दिएका छन । यार्सा टेक्नोलोजीले लाइट बनाएपछि पाँच वर्ष रेखदेख गर्ने यार्सा टेक्नोलोजीका इन्जिनियर सिद्धिक अन्सारीले बताएका छन ।

‘सवारी चालकहरुले राजधानीका चोकमा बढीमा डेढ मिनेटभन्दा बढी जाम बस्न नपर्ने गरी काम अघि बढाइरहेको खनालले बताएका छन । ‘सोलारबाट ट्राफिक लाइट बल्छ,’ यार्सा टेक्नोलोजीका रामचन्द्र खड्काले भने, ‘लाइन जाँदा र बाटोघाटो बनाउँदा पनि त्यसले असर गर्दैन ।’

ट्राफिक लाइट भएपछि जनशक्ति कम लाग्नेछ । उपत्यकाको ट्राफिक व्यवस्थापनमा १ हजार ४ सय ट्राफिक खटिएका छन् । लाइट जडानपछि बढीमा ५ सय भए पुग्ने महाशाखाले जनाएको छ । त्यसपछि जाम कम हुने, दुर्घटना न्यूनीकरणमा सहयोग पुग्न महाशाखाको विश्वास छ ।

उपत्यकाका चार स्थानमा मात्र ट्राफिक लाइटले काम गर्छ । भक्तपुरको सूर्यविनायक, कौशलटार, गठ्ठाघर र सल्लाघारीमा रहेका लाइट मात्र बल्छन् । ललितपुरका तीन स्थानमा पनि ट्राफिक लाइट जडान हुँदैछ । कानदेवता, मन्त्री क्वाटर छिर्ने पुल्चोक र अल्का अस्पताल अगाडि ट्राफिक लाइट जडान गर्न लागेको ललितपुर महानगरपालिकाले जनाएको छ ।

ट्राफिक प्रहरीले उपत्यकाका ३४ स्थानमा ट्राफिक लाइट थप्नुपर्ने भन्दै महानगरपालिका र सडक विभागमा लेखि पठाएको छ । चाबहिल, पुरानो बानेश्वर, मैतिदेवी, बबरमहल, त्रिपुरेश्वर, कृष्ण पाउरोटी, मित्रपार्क, एयरपोर्ट, ग्वार्को, सातदोबाटो, जावलाखेल, एकान्तकुना, लैनचोर, हल्चोक, सोह्रखुट्टे, बल्खु, सामाखुसी चोक, महालक्ष्मी स्थान, टेकु, गैरीधारा लगायत स्थानमा जाम बढेको भन्दै ट्राफिक प्रहरीले लाइट आवश्यक भएको बताएको छ ।

नेपालमा ट्राफिक लाइट जडान सुरुमा २०२४ सालमा गरिएको थियो । त्यसबेला सुन्धारा, न्यूरोड गेट, सिंहदरबार र राजदरबारको दक्षिणी गेटमा लाइट जडान भए पनि पछि काम गर्न छाडेको थियो । सवारी जाम बढ्दै गए पनि लाइट भने बलेका थिएनन् ।

त्यसपछि जापान सरकारले २०५८ सालमा थापाथलीमा ट्राफिक लाइट जडान गरेको थियो । जापान सरकारले नै फेरि उपत्यकाका विभिन्न १० स्थानमा त्यसै वर्ष लाइट जडान गर्यो । ती ११ स्थानका लाइट २०६७ सालदेखि काम नलाग्ने भएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्