मजाक नगर्न विप्लवलाई प्रधानमन्त्रीको चेतावनी
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक मजाक नगर्न नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले आफू र प्रचण्डको नाममा वारेन्ट जारी गरेको भनेर विप्लवले केटाकेटी खेल खेलेको बताएका छन ।
‘केपी ओलीलाई वारेन्ट जारी अरे । कुन्नी कुन गाउँमा सात दिनभित्र हाजिर हुन आउनू रे’ शनिबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘म विप्लवलाई यसप्रकारका राजनीतिक मजाकहरु नगर्न सुझाव दिन चाहन्छु । अलि बढ्ता भो क्या ।’
सार्वभौमसत्ता जनतामा आइसकेको भन्दै उनले सोखका लागि क्रान्तिकारी नहुन आग्रह गरेका छन । ‘कहाँका कुन थोत्रा किताब पढ्छन् मान्छे । सुतली बम सिद्धान्त हुन्छ ?’ उनले भने, ‘नचाहिने कुराका पछाडि कुदेका छन, यो उचित होइन ।’
प्रधानमन्त्री ओलीले भने–‘चन्दा उठाउनका लागि सिद्धान्त र क्रान्तिका गफ दिने ? ठट्टा मजाक गर्ने भए मदनकृष्ण हरिवंशजीहरु सँग आए हुन्छ । म पनि सिफारिस गरिदिन्छु । धुर्मुस सुन्तलीलाई पनि भनिदिउँला ।’
प्रधानमन्त्री ओलीले राष्ट्रिय अखण्डतामाथि प्रश्न उठाउन र सामाजिक सद्भाव खण्डन हुन नदिने पनि बताएका छन । माओवादी जनयुद्ध भएका बेलासम्म च्याँखे थाप्नु ठीकै भएपनि अब खाल उठिसकेको भन्दै उनले भने, खाल उठ्सिक्यो । फेरि च्याँखेहरु ‘म च्याँखेहरुलाई भन्न चाहन्छु, यो बन्द गर ।’
विदेशीका कुरा नेपालीको मुखबाट आउनु दुःखद भएको भन्दै उनले भने, ‘सँधै स्वाधिन रहेको देश टुक्र्याउँछु भन्ने ? यस्ता क्रियाकलाप सैहृय हुन सक्दैन ।’ युरोपेली युनियनतर्फ संकेत गर्दै उनले अलिअलि आवाज कहाँबाट आएको छ ? स्वीच कहाँ छ ? हेर्ने बताएका छन । उनले भने, सबैलाई भन्न चाहन्छौं, नेपालीहरुलाई नेपाली भएर बस्न दिनुस् । नेपाल एकतावद्ध हुन चाहन्छ, सम्बृद्ध हुन चाहन्छ ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्