सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

वेलायतमा कोरोनाका कारण १७ नेपालीको मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बेलायतमा ज्यान गुमाउने नेपालीको संख्या १७ पुगेको छ । ज्यान गुमाउने अधिकांश नेपालीहरु भुतपुर्व गोर्खा सैनिक रहेका छन् ।

बुधबार राति मात्रै बेलायतको फार्नबरोमा बस्दै आएका ८३ वर्षीय भूपू गोर्खा बुद्धबल गुरुङको स्थानीय ‘फ्रिमली पार्क अस्पताल’मा उपचारकै क्रममा मृत्यु भएको छ ।

उनलाई गत सोमबार अस्पताल भर्ना गरिएको थियो । यस्तै उनको श्रीमतीलाई समेत कोरोना ‘पोजिटिभ’ देखिएको छ । तर उनी भने घरमै ‘आइसोलसन’मा छिन् । अहिले उनको स्वास्थ्यस्थिति सामान्य रहेको बताइएको छ ।

सन् २००९ देखि बेलायत बस्दै आएका गुरुङका श्रीमती, दुई छोरा र एक छोरी छन् । गोरखा जिल्लाको सिरानचोक गाउँपालिका ७ काप्रे स्थायी घर भएका गुरुङलाई धेरै पहिला प्यारालाइसिस भएको र उनको नियमित फिजियो गरिंदै आएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

लण्डनमा कोरोनाका कारण सुरुमा भुतपुर्व गोर्खा सैनिक ६६ बर्षिय लिलाबहादुर राईको निधन भएको थियो । नेपालमा संखुवासभाको खाँदवारी पुख्र्यौली घर भएका राईको कोरोना संक्रमण पछी उपचारका क्रममा अस्पतालमा निधन भएको थियो ।

त्यसैगरी चितवन घर भएका ४० बर्षिय प्रसान्त अर्यालको पनि कोरोनाकै कारण लण्डनमा निधन भएको थियो । त्यसैगरी लण्डनको नर्थविक पार्क अस्पतालमा ५९ वर्षीय भुतपूर्व गोर्खा सैनिक चेतप्रसाद गुरुङको पनि निधन भएको छ । यसैगरी बेलायतको नटिङहममा बस्दै आएका अर्का भुतपूर्व गोर्खा सैनिक ५८ वर्षीय शिव श्रेष्ठको पनि कोरोना लागेपछी स्थानीय अस्पतालमा उपचारकै क्रममा ज्यान गएको छ ।

त्यसैगरी नातीको विहेका लागि बेलायत गएका बाग्लुंग अमलाचौरका ७५ वर्षीय कर्णबहादुर क्षेत्रीको बुधबार लण्डनको नर्थविक पार्क अस्पतालमा निधन भएको छ । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा अर्का भूपू गोर्खा सैनिक याम बहादुर मल्लको पनि निधन भएको छ । स्याङ्जा वालिङ घर भई हाल बेलायतको स्वीन्डनमा बस्दै आएका उनको कोरोना संक्रमणका कारण निधन भएको हो ।

बेलायतमा कोरोना भाइरसको संक्रमणबाट पोखराकी एक महिलाको पनि निधन भएको छ । पोखरा घर भई हाल सडवरी टाउन बस्ने ३९ बर्षिया पुष्पा घलेको कोरोना भाइरस संक्रमणकै कारण गत शनिबार निधन भएको हो । उनी एक केयर होममा काम गर्दै आएकी थिइन् । स्वर्गिय घलेको करीव एक बर्षको नाबालक छोरा रहेको खुल्न आएको छ ।

त्यस्तै केदार पन्त र मेघबहादुरको पनि कोरोनाका कारण मृत्यु भएको बेलायतबाट नेपाली समुदायका रामशरण सिम्खडाले पुष्टि गरेका छन् । त्यसैगरी लन्डनको हिलिङडनबरोमा बस्दै आएका ८२ वर्षीय हरिमान तामाङको बुधबार साँझ कोरोनाको संक्रमणका कारण निधन भएको हो ।

बुधबार नै कोरोनाको संक्रमणबाट अर्का ५८ वर्षीय पूर्वगोर्खा लक्ष्मण श्रेष्ठको मृत्यु भएको थियो । त्यस्तै बेलायतमै बस्दै आएका ७८ वर्षीय हस्तावीर गुरुङको पनि बुधबार नै मृत्यु भएको छ ।

त्यस्तै लण्डनको न्यू माल्डेनमा बस्दै आएका ७५ वर्षीय धनवीर थापामगरको उपचारका क्रममा मृत्यु भएको हो । उनको उपचारका क्रममा किङस्टन अस्पतालमा ज्यान गएको हो । कोरोनाका कारण ज्यान गुमाउने अरुको विवरण भने प्राप्त हुन सकेको छैन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्