पार्टी एकता बराबर सिद्धान्तको आधारमाः प्रचण्ड
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बराबरी सिद्धान्तका आधारमा पार्टी एकता गर्नुपर्ने बताएका छन् । भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले भने, ‘पार्टी एकता सिद्धान्ततः प्रतिशतका आधारमा हुँदैन । चुनाव जस्तो होइन भन्न खोजिएको मात्रै हो । बराबरी सिद्धान्तको आधारमा पार्टी एकता गर्नुपर्छ भन्न खोजिएको हो ।’
यसले पार्टी एकतामा अप्ठ्यारो पर्ने स्थिति नभएको बताउँदै उनले एक पटक छलफल गरेपछि सबै कुरा टुङ्गिने स्पष्ट पारेका छन । प्रधानमन्त्रीको भारत भ्रमणअघि पार्टी एकता सम्भव नभएको बताउँदै माओवादी अध्यक्ष प्रचण्डले कार्यदलले दिएको प्रतिवेदनअनुसार नै आगामी वैशाख ९ गते पार्टी एकता हुने बताएका छन ।
मंगलबार पार्टी एकता संयोजन समितिको बैठकमा दुई वटै कार्यदलको प्रतिवेदन औपचारिक ढंगले प्रस्तुत हुने भन्दै उनले संयोजन समितिमा मंगलबारदेखि नै प्रतिवेदनलाई अन्तिम रुप दिनका लागि छलफल शुरु हुने बताएका छन ।
फरक प्रसंगमा प्रचण्डले प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा केही छलफल भएको बताएका छन । उनले भने, ‘यस बारेमा पनि मंगलबार संयोजन समितिमा छलफल हुन्छ ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्