बेचिएकी चेली १७ बर्षपछी घर फकिँदाको अनुभव
भारतमा बेचिएकी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाकी ३२ वर्षीया तारा कामीले आफू घर फर्कने कुरा सपनामा समेत चिताएकी थिइनन् । १५ वर्षकै उमेरमा घर नजिकैको झलारी बजारमा किनमेल गर्न गएका बखत नशालु पदार्थ खुवाएर सशस्त्र द्वन्द्वको मौका छोप्दै विसं २०५८ मा दलालहरुले अपहरण गरी उनलाई भारत पु¥याएर बेचेका हुन् ।
“यहाँबाट लगेपछि कोठामा थुनेर राख्थे, होशमा आउने बित्तिकै नशालु सूई लगाएर बेहोस बनाउँथे,” ताराले भनिन्–“कहाँ लग्दैछ थाहा पाउने कुरै भएन । कार चढेर आउनेसँग एक हातमा पैसा लिन्थे, अर्का हातले मेरो हात सुम्पन्थे । चार पाँच ठाउँमा यसैगरी बेचिएँ ।”
“डेढ वर्षसम्म रोइ नै रहेँ, रोएको कसैले सुनेनन, नशालु सूईका कारण अहिलेसम्म मेरो दिमागले कति बेला कामै गर्दैन, के बोल्दैछु, कहाँ हिँड्दैछु थाहा हुँदैन”–उनले भनिन् । भारतको पन्जाब प्रान्त हुँदै हरियाणाको कैथल जिल्ला गुलाँ तहसिलका जसकरण सिंहसँग बेचिएपछि उनीसँगै कामीले अहिले घरजम गरेकी छिन् ।
यो दम्पतीको अहिले १५ वर्षको छोरो छ । सिसैया झलारी नेपाल मात्रै नाम थाहा थियो ताराले भनिन्–“छोरोले गुगल म्याप हेर्दै यहाँ ल्याए । यसमा भारतमा काम गर्दै आएका नेपालीको पनि सहयोग छ ।”
“यहाँ आउँला, परिवारजनसँग भेटघाट होला भनेर सपनामा समेत कल्पना गरेको थिइनँ, छोरोको प्रयासले सबै जनासँग भेटन पाएँ,” उनले गहभरि आँशु पार्दै भनिन्–“मलाई यहाँबाट लगेर बेच्नेलाई फाँसी दिनुपर्छ । मैले त पाउनसम्म यातना पाएँ । अरूले पाउन नपरोस् ।”
नशालु पदार्थ खुवाएर बेहोश बनाउनेलाई भने चिन्न नसकेको उनले बताइन् । उनले भनिन्–“अहिले कुनै दुःख छैन, घर र गाउँमै सल्लाह गरेर माइती भेट्न पुगेकी छु ।” घरजमका लागि आफू बस्दै आएको गाउँमा भारतकै उत्तराखण्डका र नेपाली चेलीलाई आफूलाई जस्तै किनेर घरजम गर्नेहरु धेरै रहेको उनी बताउँछिन् ।
उनका अनुसार यस गाउँमा किनेर विवाह गर्ने चलन छ । “धनीले किनेर विवाह गर्छन, गरिब भए विवाह नै हुँदैन”–उनले भनिन् । “छोरी अब जीवित छैन भनेर मायाँ मारिसकेका थियौँ,” ताराकी आमा वीरमा कामीले भनिन्–“भेट्न पाएपछि हर्षका आँसु थाम्नै सकिनँ ।”
चेलीबेटी बेचबिखनमा संलग्नको खोजी गरी सरकारले कारवाही गर्नुपर्ने उनले बताइन् । स्थानीय बासिन्दाका अनुसार सिसैया गाउँबाट मात्रै छ जनाभन्दा बढी किशोरी बेपत्ता भएकामा अहिलेसम्म तीन जना मात्रै दलालको पञ्जाबाट छुटेर गाउँ फर्केका छन् । तीन जनाको अवस्था अज्ञात छ ।









फेसबुकबाट कमेन्ट गर्नुहोस्