सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बर्बरतापुर्ण अपराध, दाइजोको निहुँमा आगो लगाइयो

दाइजोको निहुँमा एक १८ वर्षीया युवतीको जिउमा आगो लगाई ससुराली पक्षले मार्ने प्रयास गरेको खुलेको छ । पर्साको छिपहरमाई गाँउपालिका–४ तुलसिवर्वाकी रविना खातुनलाई उनकै श्रीमान साविर मियाँ धोबी र सासू ससुराले जिउमा आगो लगाई मार्ने प्रयास गरेका हुन् ।

रविनासँग रहेको सुनको गहना लिई घरबाट निकाल्न खोज्दा उनले ससुराली पक्षको प्रतिरोध गरेपछि ससुराली पक्षले जीउमा आगो लगाई मार्ने प्रयास गरेको रविनाले प्रहरीलाई जानकारी दिएको प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताएका छन ।

चैत १३ गते श्रीमान् साविर, ससुरा फरजन मिया धोवी, सासू शोभा खातुन लगायतका ससुराली पक्षले कुटपिट गरी शरीरमा आगो लगाएको भए पनि घटना बिहीबार सार्वजनिक भएको हो ।

नौ दिनसम्म घरमा लुकाई राखिएकी रविनाले बिहीबार उम्किन सफल भई जिल्ला प्रहरी कार्यालयको महिला सेलमा सम्पर्क गरेकी थिइन् । उनलाई उचारका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गराइएको छ ।

रविनाको कम्मरदेखि तल शरीरको दाहिने भाग जलेको छ । रविनाको दाहिने खुट्टा र कम्मरमा आगोले जलेर भएको घाउ उपचार अभावमा बिग्रिएको चिकित्सकको भनाइ छ ।

रविनाले दिएको उजुरीको आधारमा प्रहरीले अनुसन्धानलाई अगाडि बढाएको छ । ससुराली पक्षलाई जिल्ला प्रहरी कार्यालय पर्सामा उपस्थित गराउन मातहतका प्रहरी चौकीलाई निर्देशन दिएको प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिएका छन ।

भारतको दिल्लीमा काम गर्ने रविनाका श्रीमान साविरले उतै कान्छी राखेको र कान्छीबाट एउटा छोरो समेत रहेको रविनाले प्रहरीलाई बताएको प्रहरीको भनाइ छ ।

विवाह भएको तीन वर्ष बित्दा समेत रविना आमा बन्न नसकेपछि साविरले कान्छी भित्र्याइ घरबाट निकाल्न खोजेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्