सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रस्तावनामा जनयुद्ध शब्द नलेखे एकता गर्न गाह्रो

नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता मणि थापाले एकीकृत पार्टीको विधानको प्रस्तावनामा ‘जनयुद्ध’ शब्द उल्लेख नभए एमालेसँग एकता गर्न धेरै गाह्रो पर्ने बताएका छन् । दुई पार्टीको एकता गर्ने मिति समेत घोषणा भइसकेको बेला माओवादी केन्द्रीय हेडक्वाटर सदस्य थापाको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो ।

माओवादी प्रदेश पाँचका इन्चार्जसमेत रहेका थापाले रुपन्देहीको बुटवलमा आयोजित पत्रकार भेटघाटमा पार्टी एकताका लागि जनयुद्ध शब्द अनिवार्य उल्लेख हुनुपर्ने बताएका छन । उनले भने, ‘एकता चाहेको भए एमालेले जनयुद्ध शब्दलाई स्वीकारेर अघि बढ्नुपर्छ ।’

प्रेस सेन्टर नेपाल प्रदेश नं. ५ ले आयोजना गरेको कार्यक्रममा थापाले एमालेले जनयुद्ध शव्द स्वीकार्दैन भनेर आफूहरुले कल्पना पनि नगरेको बताएका छन । उनले सम्मानजनक एकता हुनुपर्नेमा जोड दिएका छन ।

‘पार्टी एकता बिचारको हो, शक्ति सन्तुलनको मात्रै होइन,’ थापाले भने, ‘बिचारको एकता हामीले चाहेको हो, एकता ठूलो–सानो संख्याको होइन, बिचार र सम्मानको आधारमा हुनुपर्छ ।’

समाजवादमा पुग्ने साझा लक्ष्य भएकाले सम्मानपूर्वक अघि बढ्नुको विकल्प नभएको उनले बताएका छन । थापाले भने–‘हामी क्याडर बेसका हौं, एमाले मासबेस पार्टी हो तर, सम्मान गरेर जाँदा मात्रै समाजवादको ढोका खुल्छ ।’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण ऐतिहासिक हुने दावीसमेत गरेका छन् ।

ओलीको भारत भ्रमणपछि नेपाल–भारत.सम्बन्ध थप उचाइमा पुग्ने दावी गर्दै थापाले भने, ‘नेपालको इतिहासमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीनपटक फोन गरेको र बिदेशमन्त्री सुष्मा स्वराज नेपाल आएर छलफल गरेको बिरलै कुरा हो । यसले नेपाल–भारतको सम्बन्ध थप उचाइमा पुर्याउँछ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्