सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

संयुक्त पत्रकार सम्मेलनमा के भने प्रधानमन्त्रीले ?

प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले नेपाल र भारतबीच नमुना सम्बन्ध बनाउन चाहेको बताएका छन् । दुई देशको प्रतिनिधिमण्डलबीचको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले नेपाल र भारतको समृद्धिमा एक अर्काको सहयोग र सहकार्य हुने नमुना सम्बन्ध होस् भन्ने आफूहरुको चाहना रहेको बताएका हुन् ।

‘हामी एउटा नमुना सम्बन्ध विकास गर्न चाहन्छौं, जसले दुबै देशको समृद्धि सँगसँगै हुनेछ’ प्रधानमन्त्री ओलीले भनेका छन् । उनले समृद्धि नेपाल र भारतको संयुक्त एजेण्डा भएको पनि बताएका छन ।

आफ्नो भारत भ्रमणले दुई देशबीच सम्बन्धको नयाँ बाटो र अर्थ पहिल्याउने भन्दै ओलीले दुई छिमेकीबीचको सम्बन्ध २१ औं शताब्दीको यथार्थताको आधारमा हुने पनि बताएका छन् ।

तीनै तहको चुनावपछि नेपाल राजनीतिक स्थायित्वसँगै सामाजिक आर्थिक विकासको बाटोमा रहेको भन्दै प्रधानमन्त्री ओलीले यसमा भारतको सहयोग र सहकार्यको अपेक्षा रहेको धारणा राखेका छन् । प्रधानमन्त्रीको रुपमा दोस्रो भारत भ्रमणलाई आफूले उच्च स्तरको राजनीतिक तहको छलफलको अवसरका रुपमा लिएको ओलीले बताएका छन् ।

अहिले नेपाललाई धेरै लगानी आवश्यक रहेको भन्दै प्रधानमन्त्री ओलीले भारतको सार्वजनिक र निजी क्षेत्रको लगानीको अपेक्षा गरेको पनि बताएका छन् । नेपाल र भारतबीच अन्तरदेशीय प्रशारण लाइन र इनर्जी बैंक निर्माणका लागि पनि दुबै देश सहमत भएको ओलीले संयुक्त पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।

नेपालले जटिल संक्रमणकाल भोगेर आर्थिक विकासको नयाँ युगमा आइपुगेको भन्दै ओलीले यस अवस्थामा भारतको सहयोग र सहकार्यको अपेक्षा गरेको बताएका छन् । भारतले केही दशकयता तीब्र विकास गरेकोमा प्रधानमन्त्री मोदीलाई बधाइ दिँदै ओलीले नेपालले यसलाई अवसरको रुपमा लिएको बताएका छन् ।

नेपालमा हरेक वर्षायाममा पानीका कारण समस्या भोग्नुपरेको भन्दै प्रधानमन्त्री ओलीले यसको उपयुक्त समाधानको आवश्यकता दुबै प्रधानमन्त्रीले महसुस गरेको पनि बताएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्