सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

को हो त हिन्दुवादीलाई धम्की दिने ‘मंगोल आर्मी’ ?

गत चैत ८ गते मंगोल नेसनल अर्गनाइजेसन (आर्मी) ३ नम्बर प्रदेश इञ्चार्ज डेबिट तामाङका नाममा एउटा पर्चा सामाजिक सञ्जालमा आयो । सो पर्चामा ‘सन् २०२५ सम्म नेपाललाई इसाई राज्य बनाउने भन्दै हिन्दुवादी संघसंस्थालाई धम्क्याइएको थियो ।

मंगोल नेसनल अर्गनाइजेसनका नाममा त्यस्तो पर्चा भेटिएपछि हिन्दुवादी संघसंस्थाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरे । र, आफूहरुमाथि भौतिक धम्की आइरहेकाले दोषीलाई कारवाही गर्न र धार्मिक व्यक्तिहरुको सुरक्षाको प्रवन्ध गर्न माग गरे ।

तर, हिन्दुवादी संघसंस्थाले प्रधानमन्त्रीसँग सुरक्षा मागेकै बेला आइतबार मध्यरातमा बिराटनगरमा हिन्दुराष्ट्रका पक्षधर सन्त आचार्य श्रीनिवासमाथि अज्ञात समूहबाट गोली प्रहार भयो । हाल आचार्यको बिराटनगरमा उपचार भइरहेको छ ।

प्रहरीले दिएको जानकारी अनुसार घटनास्थलमा मंगोल नेशनल (आर्मी) का नामको पर्चा भेटिएको छ । तर, त्यहाँ भेटिएको पर्चामा प्रहरीले भनेजस्तो मंगोल नेसनल अर्गनाइजेसन (आर्मी) को नाम किटिएको छैन, पर्चाको व्यहोरामा चाहिँ ‘आदिवासी मंगोललाई गाली दिने’ भन्ने वाक्यांश उल्लेख छ ।

आखिर को हो त्यो मंगोल नेशसनल अर्गनाइजेन (आर्मी) जसले हिन्दुवादीहरुलाई थर्काउँदै नेपाललाई इसाइ राष्ट्र बनाउने उद्घोष गरिरहेको छ ? यसबारे सोधखोज गर्दा मंगोल नेशनल अर्गनाइजेसन (एमएनओ) भनेको गोपाल गुरुङले पञ्चायतकालमै स्थापना गरेको पार्टी भएको पाईएको छ । हाल गोपाल गुरुङको निधनपछि यो पार्टीको केन्द्रीय अध्यक्षमा बुद्धलाल मेचे कार्यरत छन् ।

कुखुराको भाले चुनाव चिन्ह लिएर निर्वाचनमा समेत भाग लिँदै आएको एमएनओको पाँचौं महाधिवेशन आगामी असारमा हुन लागेको छ । र, महाधिवेशन सफल पार्नका लागि सन्तोष तामाङ संयोजक रहेको महाधिवेशन आयोजक समितिसमेत गठन भई महाधिवेशनको तयारी भइरहेको छ ।

गोपाल गुरुङ आफूलाई गौतमवुद्धबाट अभिप्रेरित बताउँथे । तर, आफ्नो पार्टी गैरहिन्दु मूलवासी मंगोलहरुको पार्टी हो भन्ने उनको नीति थियो र उनले पार्टीको सिद्धान्तका रुपमा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई मान्दै आएका थिए ।

एमएनओका सचिव थमनबहादुर बूढामगरले भने–‘हामी इसाइ धर्मका प्रचारक होइनौं, हामी धर्मनिरपेक्षताका पक्षपाती हौं । र, सबै धर्म र समुदाय मान्ने मानिसहरुसँग सदभावको पक्षमा रहेर पार्टी सञ्चालन गर्दै आएका छौं ।’

आखिर मंगोल नेशनल अर्गनाइजेन(आर्मी) का नाममा हिन्दुवादीलाई थर्काउने र गोलीसम्म हान्ने काम चाहिँ कसले गरिरहेको छ त ? थमन बुढा मगरले भने– ‘हाम्रो पार्टीको नाम बदनाम गर्ने त्यो डेविट तामाङ भन्ने व्यक्ति को हो, त्यसलाई खोजी गरेर कारवाही गर्न हामीले सरकारसँग विज्ञप्तिमार्फत माग गरिसकेका छौं ।’

अज्ञात व्यक्तिहरुले एमएनओको नाममा बदनामी गरिरहेकाले आफूहरुको महाधिवेशन तयारीलाई समेत असर गरेको एमएनओ भोजपुरका नेता चन्द्र बान्तवाले बताएका छन । उनले भने–‘भोजपुरमा हाम्रो जिल्लास्तरीय कार्यक्रमसमेत प्रभावित भएको छ, अज्ञात व्यक्तिहरुले हाम्रो पार्टीको नाम बेचेर गलत क्रियाकलाप गरेकाले हामीलाई अप्ठ्यारो परिरहेको छ ।’

गोपाल गुरुङको निधनपछि अहिले मंगोल नेशनल अर्गनाइजेसनका दुईवटा गुटहरु सञ्चालित छन् । एउटा गुटको नेतृत्व बुद्धलाल मेचे, सन्तोष तामाङ लगायतले गरेका छन् भने अर्को गुटको नेतृत्व खोटाङका वीरलाल राई, जीवन मंगोल र दिनेश वान्तवा लगायतले गर्दै आएका छन् ।

दोस्रो समूहमध्येका कतिपय क्रिश्चियन धर्मावलम्बीहरुसमेत रहेको स्रोत बताउँछ । एमएनओका दुबै समूहले आफूहरु गोपाल गुरुङको सच्चा अनुयायी रहेको दाबी गर्ने गरेका छन् । तर, निर्वाचन आयोगमा भने बुद्धलाल मेचे समूहले बैधानिकता पाएको छ ।

हिन्दुवादीलाई भड्काउन तेस्रो समूह लागेको हुनसक्ने
मंगोल नेशनल अर्गनाइजेसनका नाममा डेविट तामाङको नक्कली नामबाट जारी पर्चामा ‘जय मसी’ जस्ता शब्दहरु प्रयोग गरिएका छन् । जबकि यो संगठनले आहिलेसम्म इसाईवादलाई नभएर मंगलोवादलाई आफ्ना आदर्श मान्छ ।

त्यसैले मंगोल नेशनल अर्गनाइजेसन (आर्मी) का नामबाट भएको पर्चाबाजीमा हिन्दुवादीलाई भड्काउने र आर्य–मंगोलवीच जातीय हिंसा भड्काउन चाहने अदृश्य शक्तिको हात रहेको अनुमान गर्न सकिन्छ ।

किनभने चैत ८ गते हिन्दुवादीलाई थर्काएर वक्तव्य आउनु र त्यसपछि बिराटनरगमा धर्मगुरुमाथि गोली प्रहार हुनुले यी दुबै परिघटनाहरु एउटै योजना अन्तरगत भएको स्पष्ट हुन्छ ।

बिराटनगरको गोलीकाण्डको रहस्य पत्ता लगाउनका लागि चैत ८ गते डेबिटका नामबाट जारी विज्ञप्ति कहाँबाट रिलिज भयो भनेर खोजी गर्ने हो भने तथ्यसम्म पुग्न प्रहरीलाई सजिलो हुनेछ ।

यस्तो दंगा भड्काउनका लागि कतै क्रिश्चियन र मंगोलका नाममा गैरक्रिश्चियन र गैरमंगोलहरुकै त हात छैन ? यो पनि अनुसन्धानको विषय हो । किनभने, विगतमा झापाका कतिपय चर्चहरुमा वम बिस्फोट गराउने कार्यमा केही हिन्दुवादीहरुको नै संलग्नता रहेको प्रहरी अनुसन्धानबाट खुलिसकेको छ ।

र, काठमाडौंमा आयोजित राप्रपाको एक कार्यक्रममा हाल गोली लागेका आचार्य श्रीनिवासले आफ्नो भाषणमा ०६३ यता बनेका चर्चहरु भत्काउने धम्कीपूर्ण भाषासमेत प्रयोग गरेका थिए ।

यसका साथै विगतमा इटहरीमा धर्मका नाममा मच्चिएको झडपमा पक्राउ परेका केही प्रदर्शनकारीका साथबाट प्रहरीले भारतीय रुपैयाँ बरामद गरेको थियो । र, त्यहीबेला बिराटनगरमा भारतीय गुप्पचर संस्थाका अधिकारीहरु बास बसेको रेकर्डसमेत प्रहरीले फेला पारेको थियो ।

नेपालकै केही हिन्दुवादीहरु अनि भारतीय खुफिया एजेन्सीको सहयोगमा पूर्वी नेपालमा धार्मिक बाहनामा अशान्ति मच्चाउने उक्त असफल डिजाइनमा नेपाली सेनाका एकजना पूर्वअधिकारीको पनि संलग्नता रहेको आशंका त्यसबेला सुरक्षा निकायले गरेको थियो ।

अहिलेको घटनामा मंगोल नेशनल अर्गनाइजेसनका पछाडि जोडिएको ‘आर्मी’ शब्दलाई अपराधीले छाडेको ‘दसी’ का रुपमा लिएर अनुसन्धान अघि बढाउन सकिन्छ ।

अहिले क्रिश्चियन र मंगोलका नाममा भइरहेको हिन्दुवादीमाथिको प्रहारमा कतै तिनै पुराना तत्वहरुको त संलग्नता छैन ? प्रहरीको अनुसन्धान यतातिर पनि सोझिनुपर्ने देखिएको छ । आचार्य श्रीनिवासमाथिको आक्रमण सजातीय समूहबाटै समेत भएको हुन सक्छ । वा सीमाक्षेत्र नजिकै भएको यो घटनामा भारतीय अपराधीहरुको पनि चलखेल हुन सक्छ ।

जहाँसम्म नेपाल भित्रैको गैरहिन्दु समूहले गोली हानेको भन्ने अनुमान छ, हाल नेपालमा त्यस्तो हिन्दुविरोधी सशस्त्र समूहको जन्म भइसकेको अवस्था छैन । बरु क्रिश्चियनहरुमाथि चाहिँ हमलाका घटना हुने गरेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्